• २४ वैशाख २०८१, सोमबार

‘गण्डकीमा डायलाइसिसका लागि पर्खिनु पर्दैन’

blog

कार्यक्रममा सहभागी मुख्यमन्त्री खगराज अधिकारी ।

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख १२ गते। मिर्गौलाका बिरामीले गण्डकी प्रदेशमा सहजै डायलाइसिस सेवा प्राप्त गर्न थालेका छन्। प्रदेश सरकारको डायलाइसिस गर्न पर्खिनु नपर्ने बनाउने लक्ष्य पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले डायलाइसिस सेवाका लागि पर्खिने बिरामीको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको जानकारी दिनुभयो। “गण्डकीमा डायलाइसिस सेवा नपाएर प्रतीक्षारत बस्नुपर्ने अवस्था छैन,” डा. शर्माले भन्नुभयो। 

गण्डकीमा सरकारी १० र निजी छ गरी १६ वटा संस्थामा डायलाइसिस सेवा उपलब्ध छ। खगराज अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रिपरिषदको निर्णय अनुसार डायलाइसिस सेवा विस्तार गरिएको सचिव शर्माले उल्लेख गर्नुभयो।

लेखनाथमा डायलाइसिस केन्द्र स्थापना, अस्पताल क्षमता विस्तार गर्दै स्वास्थ्य संस्थामा गएर पालो नपर्खिई डाइलाइसिस सेवा पाउने अवस्था बनेको उहाँले दाबी गर्नुभयो। डायलाइसिसका लागि अहिले प्रदेशमा एक सय ३६ मेसिन छन्। 

कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। “यहाँहरुको समर्पणबाटै यस्तो सुखद् अवस्था आएको छ, प्रदेश सरकार सधै यहाँहरुको साथमा छ,” उहाँले भन्नुभयो, “ओपिडी सेवाको समयावधि विस्तार गर्न आवश्यक प्रबन्धसमेत सरकारले गर्ने छ।’’

अधिकारीले चैत २५ गते मुख्यमन्त्री बनेपछि प्रदेशका अस्पतालमा १२ घन्टा ओपिडी सेवा चलाउने पहिलो निर्णय गर्नुभएको थियो। अहिले विस्तारित ओपिडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङ्जा अस्पताल र गोरखा अस्पतालमा छ।

जनशक्ति कम हुँदा धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा सेवा सुरु भइनसकेको र चाँडै सञ्चालन गर्ने तयारी भएको मन्त्रालयले नजाएको छ।