• २४ वैशाख २०८१, सोमबार

संरक्षणको पर्खाइमा शुक्लाफाँटाका ताल

blog

फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर), वैशाख १२ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढी रहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ । ४४ पाटे बाघ, २३  गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र कृत्रिम पोखरी र प्राकृतिक गरी एक सयको हाराहारीमा तालतलैया छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृत्रिम पोखरी रहेको बताउनुभयो । “गर्मीका बेला वन्यजन्तुका लागि पानीको प्यास मेटाउन कृत्रिम पोखरीले निकै सहज भएको छ”, उहाँले भन्नुभयो, “अहिले त पानीको मुहान-पोखरी भएको क्षेत्रतिर नै वन्यजन्तु बढी देखिन्छन् ।” शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठुला ताल रहेपनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् ।

“यस वर्ष पोखरीको मर्मत÷सम्भारका लागि बजेट आउँदा छ-सात सरसफाइ एवम् मर्मत गरियो ।” उहाँले भन्नुभयो, “कुनै ठाउँमा सोलार सेट नहुँदा पोखरी सुकेको अवस्था पनि छ ।” सुदूरपश्चिमको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमासमेत परिचित छ । यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ ।

“पानीका लागि अझै पोखरी थप्न पाए हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त बाघ देखिने क्रम पनि बढेको छ ।” ताल उत्खनन र पुनः भरण, पर्यावरण प्रवर्द्धन, सडक स्तरोन्नतिलगायतको माग प्रदेश सरकार गरिरहेको शुक्लाफाँटा निकुञ्ज कार्यालयले जनाएको छ । तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटाभित्र ५५ वर्ग किलोमिटरको विशाल घाँसे मैदान छ । रासस