• २४ वैशाख २०८१, सोमबार

रेबिजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा

blog

बिरामीलाई रेबिजविरुद्धको खोप लगाउँदै अस्पतालका स्वास्थ्यकर्मी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख १२ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदैआएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारणले चर्को मूल्य तिरेर नीजि मेडिकल धाउन बाध्य भएका छन् । विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्कामा परेको बताएका छन् ।

“दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने ।” कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आउनुभएका नेपालगन्ज उपमहानगरपालिका –१७ परसपुरका ४१ बर्षीय यासिन अलिले भन्नुभयो, “मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छेलाई यति महँगाेमा सुई किनेर लगाउन पर्दा मर्कामा छु ।”

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको ६ सय २५ रुपियाँ तिरेर किनेको बताउनुभयो । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उहाँको भनाइ छ ।

त्यसैगरी राजापुर नगरपालिका–९, इश्वरीगन्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगन्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताउनुभयो । “२३ महिनाको यो छोरोलाई बिरालोले हातको औंलामा टोकिदियो, निःशुल्क रेबिजविरुद्धको खोप लाउन पाइन्छ भनेर त्यति टाढाबाट यहाँ ल्याएर आएँ” थारुले भन्नुभयो, “अस्पतालमा खोप सकिएको छ, बाहिरबाट किनेर ल्याउ भने, मेडिकलबाट ६ सय २५ रुपियाँमा किनेर ल्याएँ । त्यति टाढाबाट यहाँसम्म आउँदा बेकारमा दुःख मात्र पाइयो ।”

नेपालगन्जको भेरी अस्पतालको एआरभी विभागमा कुकुर विरालाले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउनेगरेका छन् । “दैनिक ४० देखि ५० जना नयाँ बिरामीहरु आउँछन्, त्यति नै संख्यामा पुराना बिरामीहरु पनि आउँछन, दैनिक सयभन्दा बढी कुकुरले टोकेका बिरामीहरु यहाँ आउँछन्” भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीले भन्नुभयो, “अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्छौं ।”

गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको बुढाथोकीले जानकारी दिनुभयो । कुकरले टोकेपछि तीनवटा रेबजिविरुद्धको खोप लगाउनुपर्ने उहाँले बताउनुभयो ।

अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउनेगरेको र हाल सो स्थानमा पनि मौज्दात शुन्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा खोप उपलब्ध नहुँदासम्म सर्वसाधारणलाई सो सेवा प्रदान गर्न नसकिने अस्पतालले जनाएको छ ।