• २४ वैशाख २०८१, सोमबार

सुनकोशी–मरिण सुरुङ २६ गते छिचोलिने

blog

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), वैशाख १२ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । १३.३ किलोमिटर लम्बाइको सुरुङ अब ११० मिटर मात्र खन्न बाँकी छ । यही वैशाख २६ गते छिचोल्ने (बे्रक थु्र गर्ने) तयारी गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा विशेष समारोहबिच सुरुङ छेदन गर्ने तयारी गरिएको बताउनुभयो ।

कुनै जटिलता नआए वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । आयोजनाका अनुसार उक्त सुरुङ २०७९ साल असोज २८ गतेदेखि कुसुमटारबाट खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएर काम गरिरहेको छ ।

सुरुङ खन्न मात्रै कोभेकले २२ महिनामा काम सक्ने गरी करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको छ । १९ महिनामा नै सुरुङ खन्ने कार्य ९८ प्रतिशतभन्दा बढी भइसकेको र ५.५ व्यासको सुरुङ मार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ । सुरुङ खन्ने कार्य लक्ष्यभन्दा तीन महिनाअगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको आयोजना प्रमुख बरालले बताउनुभयो । यसअघि टिबिएम मेसिनमाथि पहिरो खस्दा विभिन्न पटक गरी झन्डै दुई महिना सुरुङ निर्माण अवरुद्ध भएको थियो ।

“२०८४ असोजसम्म सबै प्याकेजको काम सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढिरहेको छ,” आयोजना प्रमुख बरालले भन्नुभयो, “पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरण अन्तर्गत सुनकोशीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध (ब्यारेज) निर्माणको काम रहेको छ ।” उक्त ब्यारेज निर्माण गत मङ्सिरदेखि सुरु भएको छ । पटेल–रमण जेभीले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ब्यारेज निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा २०७९ साल माघमा सम्झौता गरेको आयोजनाले जनाएको छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अद्यावधिक हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख बरालले बताउनुभयो । 

उहाँका अनुसार सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६.२९ मिटर ‘हेड’ बाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने छ । आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडवक्र्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु-याउने रहेको आयोजनाले जनाएको छ ।