• २४ वैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबिच आज भेटवार्ता हुँदै

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारका अमिर शेखलाई स्वागत गर्नुहुँदै । तस्विरः गोरखापत्र

काठमाडौँ, वैशाख १२ गते । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता हुँदैछ ।

कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबिचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।  

नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोग, उच्चशिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको भनाइ छ । 

दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो ।  

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री प्रचण्डले दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो ११ गते अपराह्न नेपाल आइपुग्नुभएको थियो । कतारी विशिष्ट अतिथिहरु आज अपराह्न काठमाडौँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।