• २४ वैशाख २०८१, सोमबार

भूकम्प गएको नौ वर्ष पूरा

भूकम्पपीडितका लागि बनेका अधिकांश घर खाली

blog

भीमेश्वर नगरपालिका–१ मा बनेको एकीकृत नमुना बस्ती ।

सुजन काफ्ले

चरीकोट, वैशाख १२ गते । नौ वर्षअघि ठूलो भूकम्पका कारण घरबार विनाश भएर चिहिलबिहिल बनेकाहरूका लागि राज्यको अनुदानमा बनाइएका अधिकांश घर अहिले खाली छन् । २०७२ साल वैशाख १२ गतेका दिन गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले नेपालमा ठुलो सङ्ख्यामा धनजनको क्षति भएको थियो । 

वैशाख १२ र २९ गते गएको भूकम्पबाट बढी क्षति पुगेका १४ जिल्लामध्ये दोलखा पनि एक हो । वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखा भए तापनि २९ गतेको भूकम्पको केन्द्रबिन्दु भने दोलखा थियो । वैशाख १२ गतेभन्दा २९ गतेको भूकम्पले दोलखामा बढी क्षति गरेको थियो । 

भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भए । सरकारी अनुदानमा नयाँ दुईकोठे घर अधिकांश गाउँमा बने तर जिल्लाभर बनेका यस्ता घरमा अहिले ताला लागेका छन् ।

जिल्लाको तामाकोशी गाउँपालिका–४, मालुमा अनुदानमा बनेका अधिकांश घर खाली छन् । भूकम्पपीडित परिवारले अनुदानको घर निर्माण गरेर काठमाडौँ बस्दै आएका छन् । गाउँ गाउँमा पूर्वाधारलगायत विभिन्न क्षेत्रको विकास भए तापनि विभिन्न सुविधाको खोजीमा बसाइँ सरेर सहर पस्न थालेपछि यहाँका घर मानिसविहीन बनेको वडाध्यक्ष नारायण खड्काले बताउनुभयो । नागरिकविहीन घरहरू मात्र भएपछि गाउँ नै बिरानो बनेको उहाँको भनाइ छ । 

तामाकोशी गाउँपालिकामा मात्र होइन, अहिले जिल्लाका विभिन्न गाउँका बासिन्दा रोजगारीका सिलसिलामा विदेश र नयाँ अवसरको खोजीमा जिल्लाबाहिर गएको भूकम्प लाभग्राहीले निर्माण गरेका अधिकांश घरमा ताला लागेको हो । कालिञ्चोक गाउँपालिका–४ का वडाध्यक्ष दीपक खुलालले गाउँमा तीव्र रूपमा बसाइँसराइ बढ्दै गएको बताउनुभयो । आफ्नो वडामा मात्र नभई पूरै गाउँपालिकाको अवस्था उस्तै रहेको खुलालले बताउनुभयो । गाउँमा कृषि, शिक्षा सडकमा लगानी गरिए तापनि गाउँमा मान्छे बस्न छाड्दै गएको उहाँले बताउनुभयो ।

भूकम्पमा भत्केका घरको सूचीमा नाम निस्केपछि गाउँघरमा बुवाआमाले छोराहरूका नाममा अनुदानको घर बनाइदिए पनि उहाँहरूको सन्तान गाउँ नफर्किएको तामाकोशी गाउँपालिका–१, भिरकोटका अमृत खड्काले बताउनुभयो । खेतीपाती कोही गर्न नमान्ने, सबै सुख खोजेर हिँडेपछि गाउँ शून्य भएको र घर कुर्ने जिम्मा ६० वर्ष कटेकाहरूको काँधमा रहेको खड्काको भनाइ छ ।

भूकम्पपछि बनेका एकीकृत बस्तीका घर पनि खाली छन् । भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा बनेको एकीकृत नमुनाबस्तीमा ५७ घर बने पनि हाल १० परिवार मात्रै बस्ने गरेका छन् ।

नेपालको जनगणना २०७८ अनुसार दोलखामा ७८ हजार २२९ घर छन् । तीमध्ये ४५ हजार ९५४ घर प्रयोगमा छन् । २० प्रतिशत अर्थात् १६ हजार ९१ घर खाली भएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाभर ६७ हजारले घर बनाएर भूकम्पपीडितलाई आवास अनुदानको तेस्रो किस्ता लिएको तथ्याङ्कमा छ । पहिलो र दोस्रो किस्ता लिएर घर अपूरै छाड्नेको सङ्ख्या पाँच हजार छ । भूकम्पपछि आर्थिक उपार्जनका लागि रोजगारी गर्न अन्य जिल्ला र विदेश जानेको घरमा ताला लागेको छ ।

स्थानीय तहले गाउँमा टोलसम्मै सडकलगायत पूर्वाधारमा लगानी गरे पनि सदुपयोग गर्ने जनशक्ति भने बाहिरिने व्रmम घटेको छैन । भूकम्पपछि जिल्लाभर अत्याधुनिक विद्यालयका भवन बने तर विद्यार्थी सङ्ख्या भने बर्सेनि घट्दो रहेको तथ्याङ्क छ । रोजगारीका लागि बिदेसिने युवाका परिवारसमेत बालबच्चाको अध्ययनका लागि सदरमुकाम र अन्य स्थानमा जाने गरेका छन् । यसले गाउँका सामुदायिक विद्यालयमा बालबालिकाको सङ्ख्या बर्सेनि घटेको तामाकोशी गाउँपालिका–१, भिरकोटस्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सन्तोष कार्कीले बताउनुभयो ।