• २४ वैशाख २०८१, सोमबार

नेपाल–कतार सम्बन्ध

blog

मुलुकमा हुन लागेको तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा विश्वबजारमा लगानीकर्ता मुलुकको रूपमा चिनिएको खाडीराष्ट्र कतारका राष्ट्रप्रमुख अमिर सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर मध्यपूर्वका देशहरूबाट नेपाल भ्रमणमा आउने पहिलो उच्चस्तरीय पाहुना भएका कारण उहाँको सुरक्षा र स्वागतमा सरकारले विशेष महत्व दिएको छ । उहाँको स्वागतमा राष्ट्रपति पौडेल स्वयम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभयो भने सरकारले उहाँको सम्मानमा मङ्गलबार सार्वजनिक बिदासमेत दियो । यसका साथै द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने तय भइसकेको छ । 

सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालका तर्फबाट राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले पटक पटक कतारको उच्चस्तरीय भ्रमण गरिसक्नुभएको छ । सन् २००० मा नेपालले कतारमा दूतावास खोलेको थियो भने कतारले सन् २०११ मा नेपालमा आफ्नो दूतावास खोलेको हो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सन् २०११ मा कतारको औपचारिक भ्रमण गर्नुभएको विदित हुन्छ । कतारका तर्फबाट भने अहिलेसम्म यस किसिमको उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । यस अर्थमा समेत अमिरको यो भ्रमणलाई नेपाल–कतार घनिष्ठ सम्बन्धका दृष्टिले निकै महìवका साथ हेरिएको छ ।

भूगोल र जनसङ्ख्याका दृष्टिले निकै सानो मुलुक भए पनि प्राकृतिक ग्यासको अपार भण्डारण रहेको खाडी मुलुक कतारको कुल गार्हस्थ उत्पादन (जिडिपी) १८० बिलियन अमेरिकी डलरभन्दा माथि रहेको छ । यो भनेको विश्वको ५५ औँ ठुलो अर्थतन्त्र भएको मुलुक हो । यद्यपि कतारबाट नेपालमा अहिलेसम्म उल्लेखनीय लगानी आउन भने सकेको छैन । अमिरको नेपाल भ्रमणबाट नेपालमा कतारी लगानी आउने अपेक्षा छ । मरुभूमिको बालुवामा हरियाली फैलाउनेदेखि भएका स्रोतसाधनको उच्च उपयोग र विश्वका दुर्लभ वस्तुहरूको विकास गरेर विश्वलाई आकर्षित गर्ने राष्ट्रिय सोचका साथ अमिरले अघि सार्नुभएका योजनाले एकपछि अर्को सफलता हासिल गरेको छ । कतारको तीव्र विकासको सुदृढ नेतृत्व गर्नुभएका अमिरले कतारलाई विश्वकै समृद्ध राष्ट्रमा पु¥याउनुभएको छ । एक दशकमै कतारले आधुनिकीकरणसँगै प्रविधि विकासमा फड्को मारेर विश्वलाई चकित पारेको छ । सन् २०२२ को विश्वकप सफलतापूर्वक सम्पन्न गरेर कतारले विश्व खेल जगत्को ध्यान खिच्नसमेत सफल भएको हो । 

विश्वमा प्रमुख लगानीकर्ता राष्ट्रको रूपमा चिनिएको कतारसँग कूटनीतिक सम्बन्ध स्थापित भएको करिब पाँच दशक पुग्न लाग्दा पनि लगानीमा आकर्षित गर्न नसक्नु हाम्रो आफ्नै कमजोरी भएको कूटनीतिक विश्लेषकहरूको बुझाइ छ । यद्यपि सानोतिनो लगानी भने नआएको होइन तर छिमेकी मुलुक भारतमा मात्रै सन् २०२० मा कतार लगानी कोषले एक बिलियन अमेरिकी डलर लगानीको घोषणा गरेको स्मरणीय छ । नेपालका तर्फबाट श्रमिक पठाउनेसम्बन्धी सम्झौतामा मात्र ध्यान पुगेको तर आर्थिक कूटनीतिका क्षेत्रमा पहल नपुगेको कूटनीतिक विश्लेषकहरूको भनाइ मननीय हुन आउँछ । अमिरको भ्रमणका क्रममा दुई देशबिच दूरगामी महत्वका आधारशिला बन्ने अपेक्षा छ । खास गरी युवा तथा खेलकुद, उच्चशिक्षा, वैज्ञानिक अनुसन्धान, पर्यटन, जलस्रोत एवं पूर्वाधार विकास साझेदारीका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ । सन् २०१३ मा कतारका सेख महमद बिन अब्दुल्लाह अल थानीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेयता कतारीहरूमा साहसिक पर्यटनका लागि नेपाल आकर्षणको केन्द्र बन्दै गएको छ । यद्यपि उनीहरूको आवश्यकता र चाहना अनुरूपका सेवासुविधाको प्रत्याभूति गराउन नसक्दा जुन रूपमा आगमन हुनुपर्ने थियो, सो हुन सकिरहेको छैन । अबका दिनमा पर्यटन आगमनतर्फ पक्कै पनि वृद्धि हुने छ भन्ने अपेक्षा गरिन्छ । 

कतार वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि मलेसियापछिको मुख्य गन्तव्य मुलुक हो । सन् २००५ मा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको कतार भ्रमणका व्रmममा नेपाली कामदार पठाउनेसम्बन्धी सम्झौतामा पहिलो हस्ताक्षर भएयता कतारमा नेपाली कामदार जाने क्रमले निरन्तरता पाएको मात्रै नभएर प्रमुख गन्तव्य मुलुकसमेत बनेको हो । चार लाखभन्दा बढी नेपालीले कतारमा पसिना बगाएर पठाएको विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रलाई भरथेग गरिरहेको छ । नेपाली श्रमिकको सुरक्षा, सेवासुविधा विस्तार तथा विद्यमान श्रम सम्झौताको परिमार्जनलगायतका कुरामा उच्चस्तरीय भ्रमणका अवसरमा नेपाली श्रमिकको हित अनुकूल समझदारी हुने अपेक्षा गरिएको छ । यो उच्चस्तरीय भ्रमणले दुई देशबिच नयाँ युग सुहाउँदो घनिष्ठ सम्बन्ध विस्तार हुने विश्वास गरिएको छ ।