• २२ वैशाख २०८१, शनिबार

दराजबाट करिब छ लाख चोरी आरोपमा तीन पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ११ गते । पोखरा नयाँ बजारमा रहेको दराजको अनलाइन डेलिभरी भवनबाट नगद, मोबाइल र झोला चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सोमबार पोखरा–५ पर्यास्ङबाट पोखरा–१५, टुटुंगा बस्ने वर्ष २९ का अर्जुन परियार, पोखरा–१० बस्ने वर्ष २७ को विकास अधिकारी र धादिङ घर भई हाल पोखरा–२ नालाकोमुख बस्ने वर्ष २९ को लोकेन्द्रबहादुर इटनीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट दराजको लकर र झोलासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । गएको चैत २४ गते दराजको पोखरा–८, नयाँ बजारमा रहेको भवनबाट शौचालयको सिस फोडी तीन जनाले लकरसहित नगद पाँच लाख ८२ हजार पाँच सय ८० सहित मोबाइल र झोला चोरेको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार राति ११ः४५ बजे कास्की प्रहरीले नाउरको मासुसहित एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पोखरा–३०, पावरहाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६९ का बोरबहादुर लामाको साथमा दुर्लभ नाउर झारलको जस्तो देखिने मासु र हड्डी करिब १० किलो फेला पारेको थियो । लामालाई पक्राउ गरी थप अनुसन्धानका लागि वन कार्यालय पठाइएको कास्कीका प्रहरी प्रवक्ता शर्माले जानकारी दिनुभयो ।