• २२ वैशाख २०८१, शनिबार

अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

blog

तस्बिरः कविन अधिकारी

तस्बिरः कविन अधिकारी

काठमाडौँ, वैशाख  ११ गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोसाकसहित सांस्कृतिक प्रस्तुतिको तयारी भएको छ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो। सडक किनारमा विभिन्न जातजातिका भेषभूषा झल्किने पोसाकमा बाजागाजासहित स्वागत गर्न समूह बनाइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडकमा सांस्कृतिक प्रस्तुतिका लागि समूह छुट्याइएको हो। 

काठमाडौँ महानगरपालिकाले स्वागतद्वार निर्माण, सडक सरसफाइसँगै सांस्कृतिक ढङ्गले स्वागतको तयारी गरेको हो। 

काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ। स्वागतद्वारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ। उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ। उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।

‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ट पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन्। 

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतल निवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ। काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन्। 

सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लाग्नुभएको हो।