• २२ वैशाख २०८१, शनिबार

मदन भण्डारी स्मृति हाफ म्याराथनको तयारी

blog

हाफ म्याराथन बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १० गते । नेकपा एमाले तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रुपन्देहीको बुटवलमा मदन भण्डारीको ३१औँ स्मृति दिवसको अवसरमा जेठ ३ गते म्याराथन आयोजना गर्न लागेको हो ।

गत वर्ष शान्तिको कामनासहित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यसपटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो । सबैका लागि खेलकुद भन्ने नाराका साथ बालकदेखि वृद्धासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराउनुभयो । 

२१ किलोमिटरको हाफ म्याराथन प्रतिस्पर्धामा सहभागिताको लागि सबैलाई खुला गरिएको छ । यस्तै १० किलोमिटर कलेज स्तरीय र पाँच किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । ६० वर्ष माथिका ज्येष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिनुभयो । 

हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै १० किलोमिटर दौडको विजेतालाई ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । 

छात्रमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २०, १५ र १० हजार तथा छात्रामा क्रमशः १५, १० र सात हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सबै स्पर्धामा शीर्ष ६ मा रहने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई दुई वर्षका लागि औषधि खर्चबापत केही रकम सहयोग प्रदान गर्ने पनि अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।