• १७ जेठ २०८१, बिहिबार

बैजालीको लोभलाग्दो कृषि व्यवसाय

blog

डिलबहादुर सिंह 

डोटी (बुडर), वैशाख १० गते । रोजगारीको खोजीमा १५ वर्ष छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा बिताएका डोटी जोरायल गाउँपालिका–२, बुडरका ४० वर्षीय डिलबहादुर बैजाली (मगर) दुःख गरेमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुराको उदाहरण बन्नुभएको छ । बुडर बजारनजिकैको डाडाँगाउँका धेरै जना भारतको हिमाञ्चल प्रदेशमा कृषि मजदुरका रूपमा काम गर्छन् । अत्यधिक चिसो हावापानी भएको त्यो स्थान कष्टपूर्ण रहेको छ । 

रातदिन नभनी तरकारीबारीमा काम गर्नुपर्ने, मालिकको हेपाइ त्यस्तै न्यून ज्याला, कठिन र पीडादायिक रोजगारबाट दिक्क भएर स्वदेश फर्किनुभएका बैजाली विदेशमा गर्ने मेहनत आफ्नै देशमा गर्ने हो भने राम्रै आम्दानी हुने बताउनुहुन्छ । उहाँले भारतको दुई वर्षसम्मको बसाइमा सिकेको कृषि खेतीसम्बन्धी ज्ञान आफ्नै ठाउँमा प्रयोग गरी तरकारी खेती गर्नुभएको छ । तरकारी खेती सुरु गरेयता उहाँले पैसाका लागि कसैसँग हात थाप्नु परेको छैन । 

पहाडी क्षेत्र उस्तै हावापानी र भौगोलीक बनावट त्यस्तै, जति मेहनत गरे पनि हुने आफ्नै गाउँठाउँ स्वर्ग हुने अनुभव उहाँ सुनाउनुहुन्छ । गर्न सके राम्रै आम्दानी हुने देखेर नेपाल फर्किएको हुँ बैजालीले भन्नुभयो, “हाल ५० रोपनीभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको छु ।”

घरनजिकैको बारीमा तरकारी गोडमेल गरिरहेको अवस्थामा भेटिएका बैजाली घरमा हातमुख जोर्न समस्या भएपछि कामकै खोजीमा भारत गएको बताउनुहुन्छ । “यताको जमिन बाँझो राखेर विदेश जानु त बेक्कार रहेछ, यही जमिनलाई उपयोग गर्दा तरकारी राम्रो उत्पादन हुने गरेको छ,” उहाँले सुनाउनुभयो । बैजालीका दुई छोरा काठमाडौँमा बसेर अध्ययन गरिरहेका छन् । 

बालबालिकाको पढाइ खर्चदेखि दैनिक घर खर्चसमेत तरकारी खेतीबाट आएको आम्दानीले हुँदै आएको छ । अघिल्लो वर्ष सात लाखको तरकारी बिक्री गरेका बैजालीले जेठ/असारमा करिब १५ लाख रुपियाँको तरकारी बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो । सुरुमा घरवरिपरिकै एक रोपनी जमिनमा मूला मात्र रोपेर तरकारी खेती सुरु गर्नुभएका बैजालीले बर्सेनि तरकारी उत्पादनका लागि जमिन बढाउँदै गर्दा यो वर्ष ५० रोपनी पु¥याउनुभएको छ । उहाँले कृषिमा जलवायुमैत्री आधुनिक प्रविधिको प्रयोग गर्दै आउनुभएको छ । सुक्खा डाडाँमा पानीको अभाव भएको स्थानमा पनि प्लास्टिक पोखरीमा वर्षाको पानी सङ्कलन गरेर मल्चिङ प्रविधि, थोपा सिँचाइ प्रविधिको प्रयोग र प्लास्टिक घर निर्माण गरेर तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

बैजालीको तरकारी खेतीप्रतिको लगाव देखेर छिमेकीसमेत व्यावसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । “हाम्रो यहाँ अग्लो र भिरालो जमिन छ । पानीको समस्या उस्तै । केही वर्षअगाडिसम्म यस्तो ठाउँमा पनि तरकारी उत्पादन गर्न सकिन्छ भन्ने सोचेका पनि थिएनौँ,” स्थानीयवासी रम्भा नेपालीले भन्नुभयो, “अचेल थोपा सिँचाइको प्रयोग, वर्षाको पानी पोखरीमा सङ्कलन गर्नेलगायतका उपाय अपनाएर तरकारी उत्पादन गरेर मनग्गे आम्दानी गर्दै आएका छौँ ।”

यस क्षेत्रमा उत्पादन भएको तरकारी बिक्रीका लागि स्थानीय बुडर बजारसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरसम्म लैजाने गरिएको छ । भीमदत्त राजमार्गबाट एक किलोमिटरको दुरीमा तरकारी खेती रहेकाले बजारसम्म लैजाने समस्या छैन । कृषक बैजालीलाई व्यावसायिक तरकारी उत्पादनका लागि कृषि ज्ञान केन्द्र डोटीले विभिन्न सहयोग गर्दै आएको छ । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जलवायुमैत्री र प्रविधिको प्रयोग गरी तरकारी उत्पादन हुँदै आएको जानकारी दिनुभयो । कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, “जलवायुमैत्री र प्रविधिको प्रयोगमार्फत ठुलो प्लटमा प्राविधिक र सामग्री कृषि ज्ञान केन्द्रको तर्फबाट सहयोग गरिएको छ ।”

सो क्षेत्रमा प्राङ्गारिक मल, झोल मल, स्थानीयस्तरमा झारपातबाट बनाइने अर्गानिक विषादीको प्रयोग गरिँदै आएको छ ।  सुक्खा जमिन भएको र मानवीय स्वास्थ्यमा समेत असर गर्ने हुँदा तरकारीमा रासायनिक मल र रासायनिक विषादीको प्रयोगमा रोक लगाइएको छ ।