• १२ साउन २०८१, शनिबार

कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण

blog

सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख ९ गते ।
 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण गर्नुभएको छ । नेवा: राष्ट्रिय मुक्ति मोर्चा नेपालसँग आइतबार हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पास गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सरकारको मूल कामको रूपमा लैजानका लागि र वार्षिक रूपमा बजेट छुट्याएर जानका लागि ऐन बनाएर काम गर्नुपर्ने उहाँको भनाइ छ । भाषा विधेयक पास गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले वैशाख २४ गते बाट कार्यान्वयनको घोषणाको तयारी गरिएको बताउनुभयो ।

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल (नेवारी) भाषालाई सरकारी कामकाजको रूपमा कार्यान्वयन भएको घोषणा गरिने छ । भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर ११९ स्थानीय तह र ११२१ वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको छ ।

भाषा विधेयक कार्यान्वयन भएर अगाडि गएपश्चात् नयाँ जागरण पैदा गर्ने र धेरै समस्याहरू हल हुने उहाँको विश्वास छ । सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पक्षका रूपमा भाषा विधेयकलाई मुख्यमन्त्रीले औँल्याएका छन् । ‘‘विधेयक तयार गरेर संसद्ले पास गरेर अब कार्यान्वयनमा जार्दै छौँ,’’ उहाँले भन्नुभयो ।

नेपालको सम्पदा र सभ्यताको विकासको मूल पक्ष काठमाडौँ उपत्यकाको नेवा सभ्यता भएको उहाँको भनाइ छ । उहाँले हाम्रो सभ्यताको विकास नै नेवा सभ्यताबाट भएको स्पष्ट पार्नुभयो । नेवा सभ्यतासँग जोडिएका धेरै कुरा धराशायी हुँदै गइरहेको छ, सङ्घीय शासन प्रणालीमा जोडिएसँगै हिजोको सभ्यताको खोजतलास गर्न र विकासका लागि कानुन आवश्यक भएकाले सभ्यता, कलासंस्कृतिको संरक्षण गर्न विना कानुन नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

त्यस्तै संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले भाषा, कला, संस्कृतिलाई जोगाउन, संरक्षण गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सबैको लिपि, भाषा, संस्कृति, परम्परा महत्त्वपूर्ण भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।