• २१ वैशाख २०८१, शुक्रबार

पलेसा र कविराज वर्षका उत्कृष्ट

blog

सम्मान पाएपछि तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा ।

काठमाडौँ, वैशाख ८ गते । छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्ने तयारीमा रहनु भएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ । 

नेपाल तेक्वान्दो सङ्घले आठौँ वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो । शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई १५ हजार रुपियाँसहित सम्मान गरिएको थियो । पलेसा र कविराजलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सम्मान गर्नुभयो । 

चीनको ताइयानमा गत चैत ४ गते आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट हुनुभएको थियो । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुनुहुन्छ । गत असोजमा चीनको होङझाओमा सम्पन्न एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । 

यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जित्नुभएको थियो । ओलम्पिकमा दुई खेल जित्ने उहाँ पहिलो नेपाली खेलाडी पनि हुनुहुन्छ । कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।

कार्यक्रममा रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई १५ हजार रुपियाँबाट सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट चितवन र बागमती प्रदेशलाई २५ हजार रुपियाँबाट सम्मान गरियो ।

यसैगरी सङ्घले एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई २५ हजार रुपियाँसहित सम्मान गरेको छ । एनटीए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो ।