• २१ वैशाख २०८१, शुक्रबार

साँगुरीगढी जाने पदमार्ग बनाउन सुरु

blog

निशा राई

धरान, वैशाख ८ गते । धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्ग बनाउन सुरु गरिएको छ । यसका लागि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईको नेतृत्वमा आजबाट श्रमदान सुरु भएको हाे।

पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी पनि एक हो । विगतमा यहाँबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत पुवी पहाडी क्षेत्रका बासिन्दाहरू पहाड, मधेश आवतजावत गर्ने गन्तव्य रहेको थियो । यसैलाई हाल धरानदेखि साँगुरीगढी सम्म प्रदेश सरकार, केन्द्र सरकार, स्थानिय सरकार र जनश्रमदानको सहयोगमा पदमार्गको बनिरहेको छ । 

पदमार्ग बनाउन गत साल देखि सुरु गरिए पनि बजेटको अभावमा अलि–अलि गर्दै आएको धरान उपमहानगरपालिकाको स्वकिय सचिव सुदर्शन लिम्बुले बताउनुभयो । उक्त पदमार्गको सुरुवात गत साल असार ६ गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई र उपप्रमुख आईन्द्रविक्रम बेघाले उद्धाटन गरेर सुरु गरिएको थियो । 

गत साल पदमार्ग निर्माणका लागि सङ्घीय सरकारको बजेट, सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईबाट बजेट आएको थियो । चालु आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र उक्त बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको हो भने ६० प्रतिशत वडा ४ मा बहुउद्देश्यीय भवन निर्माणमा लगानी गरिएको निर्माण गरिएको स्वकिय सचिव लिम्बुले बताउनुभयो । उहाँका अनुसार पदमार्गका लागि छुट्टिएको ३८ लाख ८० हजार बजेटमा २६.५ प्रतिशत कटाएर २८ लाख ५१ हजार आठ सय प्राप्त भएको थियो भने २० प्रतिशत श्रमदान भएको थियो । 

यसैगरि यस वर्ष पनि केन्द्र सरकारबाट पदमार्गको लागि भनि ५० लाख बजेट आएकोले पदमार्ग बनाउन सुरु गरिएको र करिव १२ लाखको जनश्रमदान गर्ने भएकोले आजबाट श्रमदान सुरु गरिएको उहाँले बताउनुभयो । 

पुर्खाहरूले हिँडेको बाटोलाई पदमार्गको रूपमा विकास गरेर पर्यटकीय आकर्षण बनाउन चाहेको नगर प्रमुख राईले बताउनुभयो । हाम्रो इतिहासलाई र पुर्खाहरूले प्रयोग गरेको सामग्रीहरूको प्रतिमा बाटो–बाटोमा बनाइने भएकाले पुर्खाको सम्झनामा समर्पित भए पनि यसबाट स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि आकर्षित हुने उहाँले बताउनुभयो । यस वर्ष धरानमा श्रम संस्कृति पार्कमा सबै भन्दा बढी पर्यटक आएको समेत नगर प्रमुख राईले बताउनुभयो ।  

धरानदेखि साँघुरीगढी करिब १२ कि.मी. भएपनि हाल ५ सय १२ मिटर बनेकोमा अब ५ सय ८५ मिटर बनाउन लागेको छ । बजेटको निकास चाँडै भए काम यही सालमा सम्पन्न गर्ने योजना रहेको जानकारी नगर प्रमुख राईले दिनुभयो ।

नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहले लिम्बुवान क्षेत्रमा रहेको यो गढीलाई जितेर यही गढी हुँदै पूर्वमा सेना पठाउने गरेको इतिहास रहेको छ । हाल धरान वडा नं.२० मा रहेको बीपी पार्क, श्रमपार्क हुँदै पदयात्राका लागि उक्त ऐतिहासिक बाटोलाई पर्यटकीय आकर्षण बनाउन सङ्घीय सरकारले पदमार्ग निर्माण बजेट विनियोजन गरेको थियो ।