• २१ वैशाख २०८१, शुक्रबार

सहकारी घोटाला छानविन आयोग भरपर्दो छैन : डा. आरजु देउवा

blog

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणासहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख ८ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानविन समिति भरपर्दो नरहेको जिकिर गर्नुभएको हो ।

सभापति राणाले सहकारी संस्थाहरु आफैँसँग पनि गठीमा परेका रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको बताउनु भयो । सहकारी संस्थाहरुले मान्छेको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरुले सम्बन्धित सहकारीलाई निर्देशन दिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको बताउनु भयो ।

‘‘हामी कहाँ निवेदनहरु कस्तो पनि आयो भने मान्छेहरुको घर पनि, अपार्टमेण्ट पनि कोअपरेटिभहरुले खाईदिएको जस्ता समस्याहरु पनि आयो । र एउटा निर्देशन चाहीँ हामीले उहाँहरुलाई पठायौं कि हाउजिङ सम्बन्धी पनि हेरिदिनु पर्‍यो भनेर । र असुली गर्न चाहीँ एकदमै गाह्रो छ । उहाँहरुसँग कुनै ह्युमन रिर्सोस पनि छैन, पुलिस पनि छैन । खाली आफ्नो भरमा मात्रै त सम्भव पनि छैन ।,’’  सभापति राणाले भन्नुभयो, ‘‘भनेपछि गोर्भमेन्टले फर्म गरेको संयन्त्र कति सिरियसली फर्म गरेको हो त ? यो एउटा खाली सिम्बोलिक मात्रै हो कि ? साँच्ची नै यसबाट असुली नै गर्ने हो ? त्यो प्रश्न पनि छ ।’’

सभापति राणाले २० वटा भन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताउनु भयो ।