पाटन (ललितपुर), वैशाख २१ गते । कलाकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू)को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा ज्यापूले सृजना गर्नुभएका ३२ वटा चित्रहरू प्रदर्शनीमा रहेका छन् । हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीले जनमानसमा कलाको महत्वलाई स्थापित गर्दै नेपालको मौलिक कला पौभा कलालाई अझ प्रचारप्रसार गर्ने उद्देश्य रहेको कलाकार ज्यापू बताउनुहुन्छ ।
प्रदर्शनीको उद्घाटन गर्नुहुँदै नेपालका लागि श्रीलङ्का राजदूत सुदर्शन पाथिरानाले एउटा तस्बिरले हजार शब्द बराबरको शक्तिको प्रतिनिधित्व गरेको हुन्छ भनिएजस्तै कलाकारले कोरेको चित्रकलाले धेरै शब्दहरू, सोच र धारणा व्यक्त गर्ने बताउनुभयो । उहाँले श्रीलङ्का र नेपालको लामो इतिहास रहेको स्मरण गर्नुहुँदै श्रीलङ्का बुद्ध धर्मको अनुसरण गर्ने देश र नेपाल बुद्धको जन्मथलो रहेको भन्दै दुवै देशको कलासंस्कृति, परम्परा र मूल्य मान्यतामा मिल्दोजुल्दो रहेको बताउनुभयो ।
यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिँदै दुई देशबिचको कला क्षेत्रको माध्यमबाट सामीप्यताकलाई अझै बढवा दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले कला र संस्कृतिको विकास र संरक्षणले मात्रै मौलिकता बच्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै समाजसेवी शाक्य सुरेनले कलाका विभिन्न क्षेत्र छन् भन्दै सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । योङ पिकासोका निर्देशक अजय देसार आफ्नो संस्थाले विभिन्न स्थानमा कला प्रदर्शनी गरेर चित्रकला क्षेत्रको विकास र विस्तारमा रचनात्मक कामहरू गर्दै आइरहेको बताउनुभयो ।
उहाँले पाटन कलाको नगरी भएको तथ्यलाई स्मरण गर्दै कलाको सहरमा पाटन दरबार सङ्ग्रहालयबाहेक कला प्रदर्शनी गर्ने अन्य स्थान नहुनु दुःखद भएको बताउनुभयो । पौभाः नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला हो । यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ । पौभाः चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ ।
धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकका रूपमा विभिन्न मुद्रा, आसन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ । पौभाः चित्रकलाका विषय धेरै हुन्छन् । यो महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ । यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभाः चित्रकलामा उतारिन्छ । धार्मिक आस्थाबाट आरम्भ भएको पौभाः अहिले आधुनिक र उत्तर आधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन । खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू थोरै छन् । रासस