• २१ वैशाख २०८१, शुक्रबार

गर्मीसँगै बढ्यो आगलागी

blog

लमही नगरपालिका–९, तरुलियामा आगलागीले नष्ट भएका घर ।

लीलाधर वली  

घोराही, वैशाख ८ गते । गर्मीयाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढेर मानवीय र धनजनको क्षति हुने गरेको छ । सावधानी नअपनाउँदा आगलागीबाट लाखौँ रुपियाँ बराबरको क्षति हुने गरेको छ भने पीडितहरू घरबारविहीन बन्ने गरेका छन् । लमही नगरपालिका–९, तरुलियामा वैशाख ६ गते बिहीबार आगलागी हुँदा एक जना वृद्धको मृत्यु भयो । घरनजिकै रहेको गोठमा बालबालिका खेल्ने क्रममा लागेको आगोका कारण तरुलिया निवासी ८७ वर्षीय वीरबहादुर बोटेको जलेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले गोठबाट सुरु भएको आगो घरमा सल्केपछि पैसा निकाल्न घरभित्र पसेका बोटेको आगोमा जलेर मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोठबाट सल्किएको आगोका कारण दुई घर र एक गोठ जलेर नष्ट हुँदा दुई लाखभन्दा बढीको क्षति भएको छ । बिहीबार दिउँसो चार बजेतिर गोठमा आगलागी भए पनि समयमै दमकल पुग्न नसक्दा धेरै क्षति भएको स्थानीय बताउँछन् । त्यसै गरी यही वैशाख ३ गते राप्ती गाउँपालिका–९ देवीकोट चोकमा आगलागीमा एक घरमा क्षति पुगेको थियो । घरनजिकै शान्ति सामुदायिक वनमा लागेको आगो बस्तीमा पुग्दा देवीकोट निवासी थम्मन घर्तीको घर जलेर नष्ट भएको थियो । प्रहरीका अनुसार आगलागीबाट पशुचौपाया घाइते हुनका साथै दुई लाख बराबरको क्षति भएको थियो । घरमा लागेको आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । 

पछिल्लो समय वनजङ्गलमा आगलागीका घटना बढ्दै जाँदा जङ्गलनजिक रहेका घरमा समेत आगलागी हुने जोखिम बढेको प्रहरी नायब उपरीक्षक मल्ल बताउनुहुन्छ । प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, “सुक्खा समयमा आगलागीका घटना हुने जोखिम भए पनि त्यसतर्फ सावधानी नअपनाउँदा आगलागीका घटना हुने गरेका छन् ।” 

आपत्कालीन कार्य सञ्चालन केन्द्रले गत वर्षको वैशाख महिनादेखि हालसम्म जिल्लामा आगलागीमा परेर पाँच जनाको मृत्यु भएको जनाएको छ । आपत्कालीन कार्यसञ्चालन केन्द्रका शम्भु आचार्यले आगलागीका कारण नौ जना घाइते भएका छन् भने १३१ घर, गोठ तथा पसलमा क्षति पुगेको जानकारी दिनुभएको छ । उहाँका अनुसार गर्मी मौसम सुरु भएसँगै धेरै आगलागीका घटना बढेका छन् । 

जिल्लाका १० स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहबाट बोलाएर काम चलाउनुपर्ने बाध्यता रहेको छ । जिल्लामा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा चार वटा दमकल रहेका छन् । 

मानवीय बस्ती बढ्दै जाँदा गर्मी मौसममा हुन सक्ने क्षति न्यूनीकरणका लागि दमकल आवश्यक रहे पनि अहिलेसम्म पालिकाले दमकल नकिनेको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगलागीबाट बच्नका लागि पूर्वसावधानी अन्त्य आवश्यक छ । आगलागी भइहालेको अवस्थामा क्षति न्यूनीकरणका लागि दमकल पनि आवश्यक रहेको छ ।” जिल्लामा गर्मी मौसममा मात्र नभएर प्रायः सबै महिनामा आगलागीका घटना हुने गरेका छन् ।