• २० वैशाख २०८१, बिहिबार

बंगाली समुदायको मसान नृत्य

blog

कोशी गाउँपालिका-१ लौकहीको बङ्गाली गाउँका बङ्गाली कविरथहरुले खेलेको मसान खेल्दै गरेको दृश्य । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख ७ गते । 
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारको सहायक बाटोभरी दर्जन बढी व्यक्तिहरू ढलेको देखियो । झट्ट हेर्दा कुनै दुर्घटनामा परेर मृत्यु भएका वा गम्भीर घाइते भएको दृश्य अनि एउटा समूहमा काठको घरेलु हातहतियार बोकेर कुदिरहेको दृश्य देखियो ।

यो कुनै फिल्मको कलाकारको सुटिङ वा दुर्घटना नभई कोशी प्रदेशको कोशी गाउँपालिका–१ लौकहीस्थित बङ्गाली गाउँका बङ्गाली कबिरथहरुले मसान खेलेको दृश्य हो ।

कबिरथ जाती समुदायको मौलिक सांस्कृतिक नृत्य मसान खोल्ने कार्यक्रममा मसान खेल्नेहरूलाई मन्दिरको धामी वा पुजारीले मसान धपाई उनीहरूलाई मन्दिर हुँदै घर पठाउने गरेका छन् । यहाँका कबिरथ जाती अर्थात् बङ्गाली समुदायको नयाँ वर्षमा मनाउने मसान खेल्ने वा नृत्य गर्ने, मसान निस्कने भनेर मौलिक सांस्कृतिक कार्यक्रमको रूपमा मसान खेल्ने गरेको छ ।


स्थानीयले शिवपावर्ती मन्दिर तथा स्थानीय थानको नजिकमा मसान अर्थात् शिवको दूतको रूपमा मसान निकाल्ने गरेको छ । मौलिक सांस्कृतिक कार्यक्रममा मसान प्रकट भएको खण्डमा केही मसानले परेवाको आहार माग्ने गर्छन् र स्थानीयहरुले जिउँदै परेवा मसानको मुखमा हाल्ने गरेको छ ।

मुखमा आएको परेवाको चुच्चो वा घाँटीमा टोकेर चुस्ने र बाँकी भाग स्थानीयले प्रसादको रूपमा लाने गरेको स्थानीय परमेश्वर मण्डलले जानकारी दिनुभयो ।


लौकहीमा एक सय वर्ष बढीदेखि यो मसान खोल्ने गरेको मण्डलको दाबी छ ।  शिवका दूतका रूपमा मसान नै रहेकाले सोही संस्कृति जोगाउनका लागि बङ्गाली समुदायले मसान नृत्य गर्ने गरेका छन् ।

मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षमा समान खेल्ने र खेलाउने गरेको शिवपार्वती मन्दिरका पुजारी चन्द्रोधामी कविरथले बताउनुभयो । कविरथका अनुसार नयाँ वर्षको पहिलो दिनदेखि हप्तासम्म मसान नाटक वा नृत्य गर्ने गरेका छन् ।