टीकापुर समाचारदाता
टीकापुर, वैशाख ७ गते । भजनी नगरपालिका–१ स्थित नरबहादुर बाब्लीको परिवारले ५७ वर्षदेखि बासका लागि सङ्घर्ष गरिरहेको छ । बाब्लीले विसं २०२४ मा तेजनारायण श्रेष्ठबाट तीन हजार रुपियाँमा किनेको कित्ता नम्बर ५३ को छ कट्ठा पाँच धुर जग्गा अझै आफ्नो बनाउन सक्नुभएको छैन ।
तत्कालीन जग्गाधनी तेजनारायण श्रेष्ठले २०२१ सालमा नापी गर्न खोज्दा वनले पनि दाबी गरेपछि काम रोकिएको मालपोत कार्यालय धनगढीको रेकर्डले देखाउँछ । मालपोतको रेकर्डमा ‘रेन्जर कार्यालय र तेजनारायणको तेरोमेरो विवाद रहेको’ भन्ने उल्लेख छ ।
यही विवादित जग्गालाई श्रेष्ठले नरबहादुर बाब्लीका बुवा वीरबहादुर कामीलाई बेच्नुभएको थियो । जग्गा बिक्रीको कागज बनाऊँ भन्दा तेजनारायणबाट वनको जग्गा कागज बनाउँदा लिनेदिने दुवै फस्ने भएकाले कमाई खानु र उपयुक्त समयमा नाममा गरिदिने आश्वासन पाएको नरबहादुरले बताउनुभयो ।
वनले पटक पटक तर्साए पनि उक्त जग्गाको अवस्था खोजेर २०४९ सालमा तेजनारायणलाई बुझाउँदा धन्यवाद मात्र पाएको र छोरा गोविन्दलाई पनि जग्गा नरबहादुरका नाममा बनाइदिनू भन्नुभएको स्मरण उहाँले गर्नुभयो । विसं २०२१ मा नापी नहुनुको प्रमाण मालपोतबाट खोजेर आफूले ल्याएको नरबहादुरको दाबी छ । तर तेजनारायणका छोरा गोविन्दले तत्कालीन समयमा हुन्छ भनी टारेपछि विवाद लम्बिँदै गएको भनाइ नरबहादुरको छ ।
विसं २०५६ मा छुट जग्गा दर्ता हुने सूचना पाएपछि बाब्लीले मालपोत कार्यालय कैलालीबाट २१ दिने हकदाबीको सूचना निकाल्नुभयो । तत्कालीन भजनी गाविसले २१ दिने सूचना टाँसेपछि वनले दाबी छोडेको बताइन्छ । २०५६ साल जेठ १४ मा जग्गा कमाई खाएको सिफारिस लिएर मालपोत कार्यालय पुगेका नरबहादुरले गाविसले जग्गा तेजनारायण श्रेष्ठकै भएको अर्को सिफारिस तेजनारायणका छोरा गोविन्द श्रेष्ठलाई दिएको बताउनुभयो । कामीले खोजेर ल्याएको २०२१ सालको नापीले वन र तेजनारायणको विवादले नापी रोकिएको भनी तयार गरेको प्रमाण र गाविसको सिफारिस पेस गरी गोविन्द श्रेष्ठले उल्टै मालपोतमा निवेदन दिनुभएको थियो ।
बाब्लीका अनुसार २०५६ साल चैत २८ का दिन जग्गा नाममा गरिपाऊँ भनी मालपोतमा पुग्दा तेजनारायणका छोरा गोविन्दले पनि निवेदन दिएको, म्याद सकिने अन्तिम दिन आइसकेकाले जग्गा दर्ता नहुने जानकारी पाएर फर्किंदा जालझेल गरी चैत २९ गते श्रेष्ठको नाममा जग्गा दर्ता भएको जानकारी दिनुभयो ।
केही समयपछि यो कुरा थाहा पाएका बाब्लीले आफूले खरिद गरेको र भोग गर्दै आएको जग्गा प्राप्तिका लागि न्यायालय पनि गुहार्नुभएको थियो तर तीन हजार रुपियाँमा जग्गा किनेको प्रमाण नहुँदा कामी परिवारले मुद्दा हारेको बताइन्छ ।
कानुनी रूपमा श्रेष्ठका नाममा रहेको जग्गामा श्रेष्ठले हक भने स्थापित गर्न सक्नुभएन तर २०६१ सालमा श्रेष्ठले सो जग्गा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखालाई दान दिनुभयो । श्रेष्ठ बुवालाई पैसा दिएको प्रमाण नभएकाले कानुनी रूपमा मुद्दा हारिसकेपछि बलमिच्याइँ मात्र गरेको र जग्गा भोगचलन गर्न रेडक्रसलाई दिएको बताउनुहुन्छ ।
कानुनी रूपमा जग्गा नाममा नभएपछि बाब्ली परिवारले २०२४ सालदेखि बसोबास गर्दै आएको जग्गा चार भाइ नरबहादुर, डबलबहादुर, सीताराम र तर्कले बाँडेर घर बनाउनुभएको छ । नरबहादुरको पक्की घर छ, अरूका कच्ची घर छन् । कान्छा तर्कको २०७८ सालमा कोरोनाबाट मृत्यु भइसकेकाले श्रीमती र नाबालक सन्तान मात्र छन् ।
बाब्लीले भन्नुभयो, “मालपोतले म पहिलो निवेदकलाई नबोलाई श्रेष्ठका नाममा एकलौटी दर्ता गर्यो । जग्गा दर्ता गर्ने निर्णय गरेको फाइल नम्बर १२ कार्यालयमा भेटिएको छैन । अदालतले स्थलगत अध्ययन नगरीकन मलाई हराइदियो तर सत्य एक दिन प्रमाणित हुन्छ भनेर बसेका छौँ ।”