• ४ जेठ २०८१, शुक्रबार

हुम्लामा ६ दिनपछि हवाई सेवा सुरु

blog

राजन रावत 

हुम्ला, वैशाख ६ गते। अवरुद्ध भएको छ दिनपछि हवाई सेवा सुचारु भएको छ। काठमाडौँमा रहेको सीता एयरको जहाज नेपालगन्ज आई पुगेपछि हुम्ला लगायत कर्णालीका हिमाली जिल्ला हवाई सेवा सुचारु भएको हो।

छ दिनपछि हवाई सेवा सुचारु भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो। गत शुक्रबार सीता एयरको जहाजले उडान भरेपछि कुनै उडान हुन सकेको थिएन। काठमाडौँबाट आएको सीता एयरको जहाजले बिहीबार दुई वटा उडान भरेको छ। 

उडान भएसँगै जिल्ला अस्पतालले रिफर गरेका चार जना बिरामीको उद्धार भएको छ भने अन्य २८ जना यात्रु आफ्नो गन्तव्यतर्फ जान पाउनुभएको छ भने नेपालगन्जबाट २८ जना यात्रुहरू हुम्ला आउनु भएको छ। 

सिता एयरको जहाज आजै काठमाडौँ फिर्ता जाने भएको छ। सिमकोट विमानस्थल प्रमुख सिंहले यसअघि उडान हुन नसक्नुमा नेपाल एयरलाइन्स र समिट आएको जहाजलाई प्राविधिक समस्या आउन र अन्य निजी एयरका जहाज काठमाडौँ फर्केको कारण हुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको थिएन। 

हाल तारा, सीता र समिट एयरको जहाज हप्ताको एक दिन एउटा उडान भर्ने र फर्कने गर्दै आएका छन्। उडान नहुँदा सिमकोटका केही यात्रु भने पैदल मार्गबाट गन्तव्यमा लाग्नु भएको थियो। हवाई भन्दा पैदल मार्गबाट भाडा बढी  लाग्ने गरेको छ।