• १९ वैशाख २०८१, बुधबार

सकियो आलु महोत्सव

blog

कास्की, वैशाख ६ गते । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका-२५ हेम्जामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो । 

महोत्सव स्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो । महोत्सव स्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकिलो ४० का दरले आलु बिक्री गरिएको थियो । कुल तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताउनुभयो ।

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँलगायत काठमाडौँबाट मानिसहरु आलु खरिद गर्न आएको बताइन्छ । प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम तीन सय किलो आलु खरिद गरेका हुन् । हेम्जामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ । 

यसैगरी महोत्सवभर आलुलगायत अन्य सामग्रीसमेत गरी तीन करोड ७० लाखको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ । आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए । ‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । 

कास्कीमा एक हजार दुई सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ । त्यसबाट वार्षिक २१ हजार पाँच सय १० टन उत्पादन हुँदा हेमजामा पाँच सय हेक्टर क्षेत्रफल जनिमा आलुखेती गर्ने गरिएकामा पाँच हजार टन उत्पादन हुने गरेको छ ।हेम्जामा एमएस २२, जनकदेव, खुमलटार रातोलगायतका आलुखेती गरिन्छ । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । रासस