काठमाडौँ, वैशाख ५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पस्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उहाँले पस्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । नेपालबाट निर्यात हुने महत्त्वपूर्ण उत्पादन मध्ये च्याङ्ग्राको भुवा बाट बन्ने पस्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । उहाँले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पस्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिनुभएको थियो । पस्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पस्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा सङ्कलन र प्रशोधन गरी पस्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ ।
पस्मिना फाइबर प्रशोधन सम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौँका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो । सत्र दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए । उक्त अवसरमा नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पस्मिना फाइबर प्रशोधन केन्द्रको स्थापनाबाट पस्मिना व्यवसायीले लाभ उठाइरहेको जनाउँदै सरकारले पस्मिना उत्पादन वृद्धि गर्न पूर्वाधार निर्माण र निर्यात अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले पस्मिना क्षेत्रमा देखिएका समस्याबारे चर्चा गर्नुभएको थियो । रासस