काठमाडौँ, वैशाख ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
“अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पार्नुभयो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सबलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताउनुभयो । “दबाबका बिचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सोहीअनुरूप मौद्रिक नीतिलाईसमेत अगाडि बढाउने छौँ । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरुरी छ, त्यसो गरिन्छ ।”
निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “निजी क्षेत्रको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्नसक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।” पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्त्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशा लाग्दो वर्ष हुने विश्वास व्यक्त गर्नुभयो । “नयाँ वर्षको सुरुआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दछौँ । विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस अर्थमा २०८१ लाई एउटा आसलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।”
वस्तु तथा सेवा निर्यातमा आशा लाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्युत, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उहाँले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठुलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको माग सम्बोधन गर्दै औद्योगिक वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो । सो अवसरमा निजी क्षेत्रमा उद्योगी व्यवसायीका छाता सङ्गठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता थियो । रासस
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                