• ८ पुस २०८१, सोमबार

नियम होइन, नियत बदल्नुपर्छ : सांसद चालिसे

blog

नेपाली कांग्रेसका नेता एवम् सांसद सन्तोष चालिसे

काठमाडौं, वैशाख ३ गते । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझै पनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबिच घोचपेच, मनमुटाव, जुहारी र बैठक निरन्तर अवरुद्ध हुँदा संसद् र सांसदप्रति जनताको बुझाइ त्यति सकारात्मक रहेको देखिन्न ।

सङ्घीय संसदमा यो मेरो पहिलो अभ्यास र अनुभव हो । सबै आआफ्नो स्वार्थमा केन्द्रित रहने, पार्टीभित्र पनि गुट उपगुट चल्ने, जनताको समस्या र पीरमर्कामा ध्यान कसैको नहुने कारणले सांसदको ओज र गरिमा खस्केको छ ।

कानुन निर्माण मुख्य जिम्मेवारी भए पनि संसद् र सांसदको भूमिका भनेको देश र जनताका धेरै अरु महत्त्वपूर्ण छलफल गरी निष्कर्षमा पुर्‍याउने थलो संसद् नै हो । जनताका आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, सिँचाइ, मलखाद तथा बाढी पहिरो, डुबान, दुर्घटना, आगलागी, सङ्क्रमण र आन्दोलनलगायतका विविध विषयमा गहन छलफल गरी निष्कर्षमा सदन पुग्नुपर्छ । जनताको सार्वभौमसम्पन्न थलो भएकाले सदनमा देशैभरका जनप्रतिनिधिले आआफ्नो निर्वाचन क्षेत्र र जिल्लाका समस्या त्यहाँ राख्नुहुन्छ ।

मुलुकलाई कुन दिशामा कसरी अघि बढाउने भन्ने कानुन निर्माण गर्ने मुख्य थलो पनि सदन नै हो । तर त्यो सदनलाई प्रत्येक पार्टीले आ(आफ्नो स्वार्थका लागि चलाउन खोज्दा जनताको आँखामा ठूलो विश्वासको सङ्कट पैदा भएको हो । अहिले २७ भन्दा बढी विधेयक संसदमा छन् । ती फटाफट पारित भए देश र जनताका लागि अघि बढ्ने सन्दर्भमा महत्वपूर्ण काम हुन्थ्यो । तर सदन लामो समयदेखि चल्न सकेन ।

अहिले प्रतिपक्षमा नेपाली कांग्रेस छ । मुलुकभरका धेरै सहकारी सञ्चालकले जनताका दैनिक बचतको पैसा हिनामिना गरी भागेकोे व्यापक जनगुनासोका आधारमा त्यसमा संलग्न दोषीलाई संसदीय छानबिन गरी कारवाही हुनुपर्छ भनेर नेपाली कांग्रेसले माग गरिरहेको छ । त्यो सन्दर्भमा उठाइएका मुद्दालाई सरकारले लामो समयसम्म हलुकारुपमा लिई बेवास्ता गरेकाले बाध्यभएर संसद् अबरुद्ध गर्नु परेको छ । जनता मर्कामा परेका मूल मुद्दा छिनोफानो नभएसम्म सरकारलाई दबाब दिन सदन अबरुद्ध गर्नु बाध्यता हो ।

सुशासन र समृद्धि दोबाटोमा बसेर गफ गरेर प्राप्ति हुने विषय होइन । जनताको मन जित्ने गरी काम गर्ने र समयमै कानुन बनाएर भरोसा नदिइन्जेल सुशासन र समृद्धि हुन्न । जनतालाई यसरी कतिन्जेल झुक्याउने ? जनताको भलो हुने काम नगर्ने, बजेट नल्याउने, गरिबका मर्का नसुन्ने प्रवृत्ति हाबी छ । सुशासनको नारा घन्काए पनि भ्रष्टाचारका ठूला फाइल खोल्न सकेको अवस्था छैन । कतिपय नेता र जनप्रतिनिधिका गैरजिम्मेवार क्रियाकलापले आफूलाई एउटा सांसद भनेर हिँड्न आज लाज लाग्ने अवस्था सिर्जना भएको छ । जनताले हाम्रो काम गर्ला र समस्या सम्बोधन होला भनेर चुनावमा जिताएका हुन् नि !

पार्टीभित्र पनि कतिपय समूहको स्वार्थले राम्रो काम गर्छु भनेर गएको जनप्रतिनिधि नै पनि अप्ठेरोमा छ । पहिलो र दोस्रो विश्वयुद्धदेखि पराइका लागि लड्ने र योगदान दिन सुरु गरेका नेपाली अहिले रुस र युक्रेनबीचको युद्धमा पनि सामेल भइरहेको अवस्था छ । जसले कानुन बनाएर रोक्नुपर्थ्याे त्यसले रोकेको अवस्था छैन ।

रोजगारी दिने र गरिखाने वातावरण नभएका कारण युवा, विद्यार्थीको विदेश पलायन बढ्दो छ । गरिखाने अवस्था नभएपछि नेपाली होनहार युवा परिवार पाल्नका लागि मरे मरियोस् भनेर युद्धमा होमिएका हुन् । त्यसलाई राज्यले गति गम्भीरताकासाथ लिनुपर्ने हो त्यो भइरहेको छैन ।

पार्टीभित्र, सरकार र संसदमा शुद्धीकरणका लागि हामी केही सांसद लागिपरेका छौँ । देशका सबै जनप्रतिनिधि बेइमान र अपराधी छैनन् । निकै लामो मेहेनत र सङ्घर्षका आधारमा एउटा निर्णय गर्‍यो, रातारात त्यसलाई उल्टाउने काम हुन्छ । यसले कसैको भलो गर्दैन । केही नेता र नेतृत्वको नियत नबदलिएसम्म मुलुकको शासन व्यवस्था र निर्वाचन प्रणाली जति नै  परिवर्तन गरे पनि परिणाम हात पार्न सकिन्न । जनताले राणाशासन, पञ्चायत, बहुदल र गणतन्त्र हेर्ने, व्यहोर्ने र अनुभव गर्ने काम गरिसके । अब योभन्दा बाहेक अर्को के खोज्ने र कसले गर्ने भन्ने प्रश्न हो । हामीले अब नियम होइन, नियत बदल्नुपर्छ ।

मुुलुकका तीन तहका सरकारले आ(आफ्नो जिम्मेवारी क्षेत्रभित्रका काम फटाफट गरिदिन कसले रोकेको वा छेकेको छ र ? काठमाडौ निर्वाचन क्षेत्र नं ३ को प्रमुख प्राथमिकता भनेको घरघरमा गुणस्तरीय खानेपानी, आधारभूत निःशुल्क शिक्षा र स्वास्थ्यमा सरकारको लगानी आवश्यक छ । आधुनिक कृषि प्रणालीको विकासमा पनि सरकारले ध्यान दियोस् भन्ने मेरो माग छ । जनता र राष्ट्रको हितमा काम गर्ने हो भने राजनीति र नेतृत्वको कार्यशैली, बुझाई र व्यवहारमा व्यापक शुद्धीकरण र कार्यशैली परिवर्तन हुनुपर्छ । सत्ताको दम्भ सबैले त्याग्नुपर्छ । संसदलाई विधि र कार्ययोजना बनाएर सञ्चालन गरिनुपर्छ । जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि राज्यलाई घच्घच्याउने काममा सांसदहरुले सदासर्वदा लागिपर्ने अठोट र प्रतिबद्धता जाहेर गर्नुपर्छ ।

सांसद चालिसेको परिचय
काठमाडौं गोकर्णेश्वर ९ अरुबारीका स्थायी बासिन्दा सन्तोष चालिसे विस २०३८ मा वडाध्यक्ष भएदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । विस २०४८ मा नेपाली कांग्रेसमा आबद्ध उहाँले गाविस उपाध्यक्ष र स्थानीय अरुणोदय माध्यमिक विद्यालय सञ्चालक समितिको अध्यक्ष भई जिम्मेवारी सम्हाल्नुभयो । विस २०७४ मा गोकर्णेश्वर नगरपालिका प्रमुख हुनुभएका नेता चालिसे विस २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ हाल प्रतिनिधिसभा अर्थ समिति सभापतिको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

नेपाली कांग्रेसका नेता एवम् सांसद सन्तोष चालिसेसँग राष्ट्रिय  समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।