• १६ भदौ २०८१, आइतबार

बागमतीको माटोमा अम्लीयपना

blog

माटो तथा मल परीक्षण प्रयोगशाला । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख ३ गते । बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो ।

प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, बर्सातको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो ।

माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले विगत चार वर्षको अवधिमा गरेको माटो परीक्षणबाट उच्च अम्लीयपना देखिएको हो । प्रदेशको २० लाख ३० हजार हेक्टर कुल क्षेत्रफलमध्ये ३ लाख २८ हजार २ सय ९७ हेक्टर अर्थात् १६ दशमलव १७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअनुसार जसमा २ लाख ८९ हजार ६ सय ६२ हेक्टर जग्गामा खेती गरिएको छ । यहाँको उर्वरा जमिनमा अम्लीयपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको हो । २०७६ देखि चैत तेस्रो सातासम्म १५ हजार ५८८ वटा माटोको नमुना परीक्षण गर्दा ८० प्रतिशत माटोमा अम्लीयपना देखिएको प्रयोगशाला प्रमुख वरिष्ठ माटो विज्ञ डा. खड्काले जानकारी दिनुभयो । 

गाईबस्तुको मलमा कमी आउनु, झार माटोमै कुहाउन छोड्नु, भाडामा जग्गा लिनेहरूले गाईबस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको प्रयोगशाला प्रमुख डा. खड्का बताउँछन् । माटोमा पाइने नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्य तत्त्व फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताए । 

स्थानीय तहसँगको समन्वयमा प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र मकवानपुर जिल्लामा डिजिटल म्यापिङ गरिएको थियो । स्थापनाकालदेखि हालसम्ममा सबैभन्दा धेरै गत आवमा माटोको नमुना सङ्कलन र परीक्षण भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । माटोको परीक्षण गर्दा अम्लीयपन पाइएपछि प्रयोगशालाले किसानलाई चुन वितरण गरेको छ । माटोको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र चितवनको गरी पाँच पालिकालाई किसानलाई वितरण गर्ने गरी प्रतिपालिका २१ मेट्रिक टनका दरले निःशुल्क रूपमा १०५ मेट्रिक टन कृषि चुन वितरण उपलब्ध गराइएको हो । कृषि चुनमा नौ लाख ८१ हजार रुपियाँ खर्च भएको थियो । यस्तै गत आवमा जीवाणु मलको प्रयोग र भकारो सुधार कार्यक्रमबाट दुई जिल्लाका ५९ जना किसान लाभान्वित भएका छन् । 

प्रयोगशालाले प्रदेशका विभिन्न जिल्लामा घुम्ती शिविर गरी माटो परीक्षण गर्दै आएको छ । दुई वटा बसलाई मोबाइल भ्यान बनाएर खेत खेतमै पुगेर परीक्षण गर्ने गरिएको कार्यालयकी माटोविज्ञ लक्ष्मी दाहालले बताउनुभयो । बसमै परीक्षण मेसिन राखिएको छ ।  

कार्यालयअनुसार प्रतिनमुना परीक्षणबाट ७२ रुपैयाँ ५० पैसा राजस्व लिने गरिएको छ । स्थानीय तहहरूले  राजस्व दाखिला गर्दिने गरेकाले सामूहिक रूपमा माटोको नमुना परीक्षण गर्दै आएको छ । सरकारी कार्यालय वा सरकारी स्वामित्व रहेका स्थानबाट आएका नमुना विश्लेषण कार्यालयले निःशुल्क गर्दै आएकामा कृषक आफैँले ल्याएको नमुना विश्लेषणबाट २५ प्रतिशत र अध्ययन अनुसन्धान कार्यका लागि विद्यार्थी वा विश्वविद्यालयका सम्बन्धित अध्येताले अध्ययन केन्द्र वा विश्वविद्यालयको सम्बन्धित विभागले सिफारिस पत्र पेस गरेमा नमुनाको विश्लेषण शुल्कमा ५० प्रतिशत छुट दिने गरेको प्रयोगशालाले जनाएको छ ।