• २२ वैशाख २०८१, शनिबार

स्तरोन्नतिको काम अन्तिम चरणमा

blog

घोराही समाचारदाता

घोराही, वैशाख ३ गते । सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दाङको पहाडी क्षेत्र हाँसीपुर हुँदै प्रदेश राजधानी भालुवाङ जोड्ने बिपीमार्ग अन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकखण्ड विस्तारसँगै स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । 

घोराही उपमहानगरपालिका–१, सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको करिब १७ किलोमिटर सडक स्तरोन्नतिको काम ९० प्रतिशत सकिएको प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बङ्गलाचुली गाउँपालिकाको पहाडी क्षेत्रसँगै प्रदेश राजधानी क्षेत्रलाई जोड्ने गरी विस्तार भइरहेको सडकको काम चालु आर्थिक वर्षभित्र सक्ने गरी कार्य भइरहेको छ ।

दुई वर्षभित्र सडक स्तोन्नतिको काम सक्ने गरी २०७९ साल असार १४ गते वाइवा एन्ड लामा तिरुपाते सिद्धान्त जेभीसँग सम्झौता भएको थियो । प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्रमुख अर्यालका अनुसार सम्झौता अनुसार सडक विस्तारसँगै नाला, वाल निर्माण, खोलामा कल्भर्ट निर्माणसँगै ग्राभेल गर्ने काम भइरहेको छ । उक्त सडक अन्तर्गत अन्यत्रको काम सकेर अहिले निर्माण कम्पनीले घोराही उपमहानगरपालिका अन्तर्गत सुकाखोला र बङ्गलाचुलीको हाँसीपुर क्षेत्रमा सडक विस्तारसँगै कल्भर्ट निर्माणको काम गरिएको जनाइएको छ । 

कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको ८५–९० प्रतिशत काम भइसकेको छ । बाँकी काम पनि चालु आवभित्र सक्ने गरी काम भइरहेको छ ।” ३२ करोड ८९ लाख २९ हजार ६२७ रुपियाँमा टेन्डर आह्वान भएकामा निर्माण कम्पनीसँग २७ करोड ७० लाख ६५ हजार ३४३ रुपियाँमा सम्झौता भएको थियो । कार्यालय प्रमुख अर्यालले सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको उक्त सडकको ८० प्रतिशत वित्तीय प्रगति अर्थात् २२ करोड १६ लाख ५२ हजार बराबरको रकम खर्च भएको जानकारी दिनुभयो । बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुर निवासी नारायण घर्तीले सडक स्तरोन्नति भएसँगै बङ्गलाचुली गाउँपालिका अन्तर्गत मुलाबारी, गहतेरा, हाँसीपुर, बिर्खेलगायतका बस्तीका स्थानीयलाई सहजता हुने बताउनुभयो । 

भालुवाङमा रहेको लुम्बिनी प्रदेशको राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा समेत रहेको सडकलाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी रहेको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिका–४, भैसाहीदेखि वडा नं. १ को सिमलतारासम्म सडक कालोपत्रे गरिएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार उक्त सडक अन्तर्गत बङ्गलाचुली गाउँपालिका–८ को अर्जुनखोलामा पुल निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । खोलामा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीसाधन सञ्चालनमा समस्या हुने गर्दथ्यो । सडकको विस्तारसँगै खोलामा कल्भर्ट निर्माण भएपछि पानी पर्दासमेत स्थानीयलाई सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्डमा हिँडडुल गर्न सहज भएको स्थानीय बताउँछन् ।