• १८ माघ २०८१, शुक्रबार

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

blog

मोटरसाइकल चोरी अभियोगमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तद्वय । तस्बिर : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय

काठमाडौं, माघ १८ गते । ट्राफिक प्रहरीले काठमाडौँको छुट्टाछुट्टै स्थानबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका १० घर भई हाल काठमाडौंको माकलबारी बस्ने २२ वर्षीय विजय थिङ र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङलाई नियन्त्रणमा लिएको हो ।  

वास्तविक नम्बर बागमती प्रदेश ०२–०२७ प ८३३४  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०३–०३३ प ३५५३ राखी काठमाडौंको चाबहिलमा विजयले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चलान सिंहबाट विजयले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत ट्राफिक प्रहरीले काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको थियो ।

उक्त मोटरसाइकल अर्घाखाँची घर भएका आदर्श बेल्बासेले काठमाडौं महानगरपालिका ३२ पञ्चमुखीबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिनुभएको थियो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरीष्‍ठ उपरीक्षक विनोद घिमिरेले नियन्त्रणमा लिएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको जानकारी दिनुभयो  । 

उहाँले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक,लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवात जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गर्नुभएको छ ।