• २२ वैशाख २०८१, शनिबार

माटोको ढिस्कोले पुरिदा दुई बालकको मृत्यु

blog

लीलाधर वली

घोराही, बैशाख २ गते । दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको मृत्यु  भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ आन्द्रा भरैया निवासी १२ बर्षीया आशिष चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।  

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार आन्द्राभरैयाबाट ३÷४ जना बालक घरदेखि करिब ५ सय मिटर टाढा कर्मटटे भन्ने ठाउँमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएका थिए । माटोको ढिस्कोमा पुरिएका बालकलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । 

प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो, ‘दिउँसोको समय बबई नदीमा खेल्न गएको समयमा बालकहरु घर लिपपोत गर्नका लागि माटो खनेको खाडलमा खेल्नेक्रममा ढिस्कोमा पुरिएका रहेछन् । उनीहरुको उद्धारमा ढिलाइ हुँदा मृत्यु हुन गयो ।’ प्रहरीका अनुसार मृतक बालकहरुको शवलाई पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।