• १३ साउन २०८१, आइतबार

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

blog

काठमाडौं वैशाख २ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदका लागि टेण्डर प्रक्रियामा गएको बताएको छ । मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया सुरु गरिएको जनाएको हो ।

कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चितता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताउनुभयो । सचिव शर्माले  १५ अर्ब रकम स्रोत सुनिश्चित गरी दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

उहाँले गहुँका लागि आवश्यक मल खरिदका लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चित गरेर टेण्डर गरिएको बताउनुभयो । समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको बताउनुभयो ।

सचिव शर्माले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताउनुभयो । उहाँले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताउनुभयो ।

सचिव शर्माले दुई लाख १० हजार  मेट्रिक टन युरिया, ९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारसँग युरिया ७५ हजार ९६६, डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा युरिया एक लाख ७६ हजार, डीएपी एक लाख आठ हजार ७९७ र पोटास नौ हजार मल वितरण गरिएको बताउनुभयो ।

कृषिमन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रियालाई तीव्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले कार्यविधिमार्फत मल आयात हुन नसक्दा सधैँ विवाद र झमेला भइरहेको बताउनुभयो ।

मन्त्रालयले कार्यविधि बनाउन सक्ने हो भने यसको निकास तत्काल हुने विश्वास उहाँको थियो । मन्त्री साहले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले रासायनिक मल खरिद प्रक्रिया छोटो बाटोमा जानुपर्ने बताउनुभयो ।

मन्त्री साहले नेपालमा मल कारखानाको स्थापना गर्न नसकेसम्म समस्या झेल्नुपर्ने बताउनुभयो । मन्त्री ज्वालाले रासायनिक मलको अर्को विकल्प नभएसम्म खरिद प्रक्रिया तीव्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले कृषि मन्त्रालयले राम्रो काम गर्न खोजिरहेको भन्दै भर्खरै सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गरेको सुनाउनुभयो ।