• २० वैशाख २०८१, बिहिबार

आयोजक हिमालयलाई फुटबल उपाधि

blog

उपाधि विजेता टोली । तस्बिर : गोरखापत्र

कमल खत्री

नेपालगन्ज, वैशाख १ गते । आयोजक हिमालय सामुदायिक क्लब ‘ए’ ले दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाँकेको खजुरा स्थित धौलागिरीमा भएको फाइनल खेलमा हिमालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई ६–१ गोलले हराउँदै उपाधि जितेको हो । 

हिमालयको जितमा क्षितिज थापाले चार गोल, निराजन शाही र एलेक्स रानामगरले एक एक गोल गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट मानबहादुर थारुले एक गोल गर्नुभयो । 

हिमालयका खेलाडी क्षितिज थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । क्षितिजले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जित्नु भयो । उहाँले प्रतियोगिताभर सात गोल गर्नुभएको थियो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिका वडा नम्बर ३ अध्यक्ष पुर्ण बहादुर भण्डारी, जानकी गाउँपालिका वडा नम्बर ५ अध्यक्ष टिकानाथ यादव, आयोजक क्लबका अध्यक्ष किरण थापालगायतले पुरस्कृत गर्नुभएको थियो ।  

प्रतियोगिताको विजेता हिमालय सामुदायिक क्लबले ५५ हजार ५ सय ५५ रुपियाँ मेडल र प्रमाण पत्र र उपविजेता जिल्ला प्रहरी कार्यालय बाँकेले ३० हजार ५सय ५५ रुपियाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बाँके जिल्ला फुटबल सङ्घले ३१ सय रुपियाँ प्रदान गरेको थियो । जनयुद्धको समयमा हत्या गरिएका डम्बर रानाबाटको सम्झनामा स्थानीय युवाहरुले गत वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा बाँके जिल्लाका १४ टिमको सहभागिता रहेको थियो ।