• २१ वैशाख २०८१, शुक्रबार

सिमकोटको वित्तीय प्रगति ४४ प्रतिशत

blog

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख १ गते । सिमकोट गाउँपालिकाले ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको पाइएको छ । गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुरा सार्वजनिक गरिएको हो ।

सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास आलेले छ महिनासम्म भएका गतिविधिहरूको प्रगति प्रस्तुत गर्नु भएको थियो । सो क्रममा अधिकृत आलेले कुल ५३ करोड ३० लाख ४० हजार ३७३ बजेटमा  छ महिनासम्म सो बजेट मध्य २३ करोड ६१ लख ६५ हजार नौ सय रुपियाँ खर्च भएका विवरण प्रस्तुत गरिएको थियो ।

कुल बजेटमध्ये चालुमा ३५ करोड ७५ लाख पाँच हजार ७७ रुपियाँमा १९ करोड ७५ लाख ५१ हजार २१४ रुपियाँ खर्च गर्दै ५५ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ १७ करोड ५५ लाख ३५ हजार २९६ रुपियाँमा तीन करोड ८६ लाख ३४ हजार ६८५ रुपियाँ खर्च गरेर २२ प्रतिशत बजेट खर्च गरेको देखाइएको थियो ।

समग्रमा सिमकोट गाउँपालिकाको वित्तीय प्रगति ४४ दशमलव ३ प्रतिशत रहेको छ । चालु आवमा गाउँपालिकाले क्षेत्रगत रूपमा भौतिक पूर्वाधारतर्फ सडकमा सात वटा, गोरेटो बाटोमा १८ वटा, सिँचाइमा चार वटा, भवनमा बिस वटा, खानेपानीमा एघार वटा, ढल निर्माणमा सात वटा, तटबन्धनमा १२्र वटा, धार्मिक संरचनामा  १६ वटा, घेरवारमा १७ वटा, बिधुतमा दुई वटा र अन्यमा २६ वटा योजनाहरू निर्माण गर्न लागेको जनाइएको थियो । त्यसैगरी छ महिनामा स्वास्थ्य, शिक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, युनिसेफसँगको सहकार्य, न्यायिक समिति, पञ्जिकरण शाखा, वहुक्षेत्रीय पोषण, पशुसेवा शाखा, रोजगार सेवा केन्द्र, मुख्यमन्त्री रोजगार कार्यक्रम, कृषि विकास शाखाको छुट्टा छुट्टै प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

सेवाग्राही उपस्थित नभएको गुनासो

सुनुवाइ कार्यक्रममा सिमकोट गाउँपालिका– ५ का तीर्थराज रोकायाले सुनुवाइ कार्यक्रममा सेवाग्राहीको उपस्थिति हुन नसक्नु दुःखद पक्ष भएको बताउनुहुँदै यो कार्यक्रम सुन्ने र सुनाउने पक्ष कर्मचारी मात्र भएको आरोप लगाउनुभयो ।

उहाँले गाउँपालिकाको संरचना वडा स्तरमा भएको तर वडावासीको उपस्थिति नभएका कारण सार्वजनिक सुनुवाइ कार्यक्रमले सार्थकता नपाउने बताउनुभयो । यो कार्यक्रम जसका लागि गरिएको हो, उनीहरू कै उपस्थिति नहुनु भनेको कार्यक्रमका लागि कार्यक्रम भएको उहाँले बताउनुभयो  ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले पारदर्सीताका लागि सार्वजनिक सुनुवाइ हुनु सकारात्मक कार्य भए पनि कार्यक्रमबाट लाभान्वित हुनेको उपस्थिति नभएका कारण यसले सफलता नपाउने बताउनुभयो । गाउँपालिका सर्वसाधारणका यस्ता कार्यक्रममा उपस्थिति बढाउने र वास्तविक सेवाग्राहीको धारण बुझ्ने कार्य गर्न सुझाव समेत उहाँले दिनुभयो ।

कार्यक्रम उठेका जिज्ञासाको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष विजय भण्डारीले सात दिन अगाडि नै सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणको उपस्थितिका लागि आह्वान गरिएको भएपनि थोरै सेवाग्राहीको उपस्थिति हुनु सकारात्मक कार्य नभएको बताउनुभयो । उहाँले आफ्नो लक्ष पनि बढीभन्दा बढी सेवाग्राहीको उपस्थिति भएर सल्लाह, सुझाव, नराम्रो कामको खबरदारी भई दिएको भए राम्रो हुने जिकिर गर्नुभयो । अब आगामी दिनमा यस्ता कार्यक्रमलाई सुधार गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले सुशासनका लागि सार्वजनिक सुनुर्वा कार्यक्रम गर्नु अपरिहार्य भएको बताउनुहुँदै यसका समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष सुशीला रोकाया भामले बाहिर गाउँपालिका यो गरेन, उ गरेन भन्नुभन्दा पनि कार्यक्रममा आएर जिज्ञासा राख्नु राम्रो हुने बताउनुभयो ।