• १२ साउन २०८१, शनिबार

एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको चुनौती

blog

मलेसियाविरुद्ध बलिङ गर्नुहुँदै दीपेन्द्रसिंह ऐरी । उहाँले दुई विकेट लिनुभयो । तस्बिरः क्यान

काठमाडौँ, चैत ३० गते। एसीसी प्रिमियर कप टी–२० प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको चुनौती दिएको छ। 

ओमानको अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ  गरेको मलेसियाले ३ विकेटको क्षतिमा १४३ रन बनाएको हो। मलेसियाका लागि विरनदीप सिंहले नटआउट ५७ बलमा ७२ रन बनाउनुभयो। शर्विन मुनिन्दीले ३३ बलको सामना गर्दै ४४ रन बनाउनुभयो भने मोहम्मद अमिरले १८ बल खेल्दै १६ रन जोड्नुभयो। 

सैयद अजिजले ६ रन बनाउँदा नजमुस साकिब नटआउट ३ रनमा समेटिनुभयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट हात पर्नुभयो। केही बेरमा नेपालले जावाफी ब्याटिङ गर्नेछ। 


साबिक विजेता नेपाल मलेसियाविरुद्ध सुखद सुरुवात गर्ने योजनामा छ।  नेपाल प्रिमियर कपको समूह ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ। एसीसी प्रिमियर कपको साबिक विजेता नेपाललाई यसपटक उपाधि रक्षा गर्ने चुनौती छ। 

नेपाली टोली भारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता खेलेर उतैबाट ओमान गएको हो। गुजरात र बरोडा क्रिकेट सङ्घ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो।