• १३ साउन २०८१, आइतबार

सामुदायिक वनमा आगलागी

blog

आगलागीबाट क्षति भएको रिठाबिरा सामुदायिक वन । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, चैत २९ गते । सुक्खायाम सुरु भएसँगै चैतको महिनाको अवधिमा सात वटा सामुदायिक वनमा आगलागी भएको छ । कतै अज्ञात समूह र कतै ससाना बालबालिकाले बालेको आगोबाट सामुदायिक वनमा आगलागी भएको हो ।

चैत २४ देखि २६ सम्म बुढीगङ्गा नगरपालिका रातोमाटो सल्लेरी, रिठाबिरा, डोइला, खोकेलालगायत सात वटा सामुदायिक वनमा आगलागी भएको स्थानीय बताउँछन् ।

गत चैत २४ गते सानो बालकले गहुँको उमा पोल्ने बेला आगो बाल्दा रिठाबिरा सामुदायिक वनमा आगलागी भएको बुढीगङ्गा नगरपालिका–७ का स्थानीय सामाजिक अभियन्ता मीन बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो वनमा १० लाख रुपियाँ खर्च गरेर पाँच हजार रिठाको बोट रोपेका थियौँ । आगलागी हुँदा त्यो सबै जलेर नष्ट भयो ।” वनमा रहेको साल, सिसम, टुनीलगायत खानेपानी तथा वनमा सिँचाइका लागि बिछ्याइएको पाइपसमेत जलेर नष्ट भएको बुढाले बताउनुभयो ।

उक्त आगलागी प्रहरी तथा स्थानीयवासीले निभाउन प्रयास गरेका थिए तर पनि नियन्त्रणमा ल्याउन नसकिएको बताइएको छ । आगलागीबाट सामुदायिक वनमा ठुलो क्षति भएको बुढाले बताउनुभयो ।

चैत/वैशाख महिनामा थप वन जङ्गलमा आगलागी हुने सम्भावना रहेकाले यसबाट सजग हुन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् तर पनि सामुदायिक वनमा आगलागी हुने घटना रोकिएका छैनन् । 

सामुदायिक वनको रक्षाका लागि स्थानीयकै जिम्मेवारी बढी हुने भए पनि कोही पनि जिम्मेवार नदेखिएको बताइएको छ । स्थानीयलाई सजग बनाउन जिल्लास्थित विभिन्न पत्रपत्रिका, रेडियोलगायत मिडियामा वन डढेलोसम्बन्धी सूचना प्रसारण गर्दै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आगलागी हुने कुरा प्राकृतिक प्रकोपले कमै हुन्छ । यहाँका स्थानीयले नै आगो लगाउने भएकाले प्रत्येक वर्ष वन सम्पदामा ठुलो क्षति हुँदै गएको डिभिजन वन कार्यालय प्रमुख भोजराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन व्यक्तिले वनमा आगो लगाएको छ, त्यो व्यक्तिलाई कारबाही गर्ने व्यवस्था भए पनि यो कुरा स्थानीयले भन्दैनन् ।” सामुदायिक वनमा यदि कसैले जानी जानी आगो लगायो भने ६० हजार रुपियाँ जरिबाना र तीन महिना कैदको व्यवस्था रहेको पाठकले बताउनुभयो ।

यस जिल्लाको नौ वटै स्थानीय तहमा ३५० वटा सामुदायिक वन रहेका छन् । सामुदायिक र सार्वजनिक गरी ९४ हजार १५० हेक्टर क्षेत्रफलमा वनजङ्गल फैलिएको डिभिजन वन कार्यालयले जनाएको छ ।