• १३ साउन २०८१, आइतबार

किसानले विद्यालयलाई बेचे एक करोड सत्र लाखको तरकारी

blog

विद्यालयमा दिवा खाजा खाँदै आधारभूत तहका विद्यार्थी । तस्बिरः लोकेन्द्र जोशी

दार्चुला समाचारदाता

दार्चुला, चैत २९ गते । दार्चुलाका विद्यालयमा दिवा खाजा कार्यक्रमबाट विद्यार्थीसँगै किसानले समेत प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन् । एक वर्षको अवधिमा दार्चुलाका दिवा खाजा कार्यक्रम लागु भएका ३३६ विद्यालयले किसानबाट एक करोड १७ लाखभन्दा बढीको तरकारी किनेर विद्यार्थीलाई खुवाएका छन् । 

एक शैक्षिक सत्रमा विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत दार्चुलाका नौ वटै स्थानीय तहका कृषकले विद्यालयमा एक करोड १७ लाख ४३ हजार ९२० रुपियाँको तरकारी बिक्री गरेको सहजीकरण संस्था सप्रोस नेपालका कार्यक्रम संयोजक कृष्णसिंह ठगुन्नाले जानकारी दिनुभयो । 

विश्व खाद्य कार्यक्रम अन्तर्गत सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रममा मर्सिकोरको प्राविधिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा अगस्त २०२२ देखि दार्चुला जिल्लामा होम ग्रोन स्कुल मिल प्रोग्राम (एचजिएसएमपी) कार्यक्रम सञ्चालन भएको छ । २०८० साल वैशाखदेखि चैतसम्मको तथ्याङ्क हेर्दा कार्यक्रम लागु भएका ३३६ विद्यालयका २१ हजार ७४८ विद्यार्थीका लागि १५६.५८ मेट्रिक टन तरकारी खरिदबिक्री भएको उहाँले बताउनुभयो ।

जस अन्तर्गत सबभन्दा बढी दार्चुलाको शैल्यशिखर नगरपालिकामा २२ लाख ८६ हजार नौ सय रुपियाँको तरकारी खरिदबिक्री गरिएको छ । दिवा खाजामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन तथा खनिज पदार्थको मिश्रण गरिएको छ । विद्यालयमा जाने बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनुका साथै पोषणको परिपूरक तत्वका रूपमा रहेको दिवा खाजा कार्यक्रममा बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थी समेटिएका छन् । 

अहिलेसम्म तरकारी किसानबाट किन्ने र चामल, दाल, नुन र तेल खरिद गरेर दिने गरिएकोमा नयाँ शैक्षिक सत्रको साउन अर्थात् जुन महिनादेखि दालसमेत स्थानीयस्तरमा उत्पादन भएको प्रयोग गर्ने र किसानबाटै खरिद गर्ने योजना रहेको छ । 

तरकारी सहकारी संस्था वा समूहसँगको सहकार्यमा विद्यालयमा वितरण गरिँदै आएको थियो । विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यार्थीको उपस्थिति बढ्नुका साथै विद्यालय क्षेत्रमा प्रयोग हुँदै आएको पत्रु खाना (जङ्कफुड) को प्रयोगमा समेत कमी आएको शिक्षकहरू बताउँछन् ।