• ८ पुस २०८१, सोमबार

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

blog

निर्वाचित राष्ट्रिय सभाको उपाध्यक्ष विमला घिमिरे ।

काठमाडौँ, चैत २८ गते । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय सभाको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टीकाटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रिय सभामा महिला सदस्य सशक्तीकरणका विषयमा पनि मेरो भूमिका रहनेछ ।”

उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरेको उपाध्यक्ष पदलाई सानो वा ठुलो भनी मूल्याङ्कन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गर्नुभयो । प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उहाँले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । वामपन्थी खेमामा रही महिला सशक्तीकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा (एमाले) को पोलिटब्युरो सदस्य हुनुहुन्छ । उहाँ चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहनुभएको छ । रासस