• १३ साउन २०८१, आइतबार

भण्डारणको प्रविधि गाउँमा भित्रिएपछि जुनार कृषक दङ्ग

blog

रामेछापको रामेछाप नगरपालिका–६ ओख्रोनीस्थित कृषक जागरण कृषि सहकारी संस्थामा निर्माण भएको मिनी कोल्ड स्टोर । तस्बिर : नवराज श्रेष्ठ

नवराज श्रेष्ठ

रामेछाप, चैत २८ गते । भण्डारणको प्रविधि गाउँमा भित्रिएपछि रामेछापको रामेछाप नगरपालिका–६ ओख्रोनीका जुनार कृषक पदम बहादुर तामाङ दङ्ग हुनुहुन्छ । अहिले पदमबहादुर व्यवस्थापक रहेको कृषक जागरण कृषि सहकारी संस्था लिमिटेडमा सहकारीको तीन लाख ४० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापको १० लाख अनुदानमा मिनी कोल्ड स्टोर निर्माण भएको छ । ६ मेट्रिक टन क्षमताको यो कोल्ड स्टोरमा सहकारीमा आबद्ध ३० घर परिवारले उत्पादन गरेका जुनार तथा सुन्तला सुरक्षित भण्डार गर्न सकिन्छ ।

कोल्ड स्टोर बनेपछि बजार नपाउने डरले सस्तो मूल्यमा जुनार बेचिरहेका आफू जस्ता किसानहरूलाई ठुलो राहत पुगेको तामाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘गाउँमै मिनी कोल्ड स्टोर प्रविधि भित्रिएको छ । यसले ओख्रेनीका जुनार कृषक धेरै खुसी छन् । अब यहाँका किसानले यो कोल्ड स्टोरमा भण्डारण गरी बेमौसमै पनि यहाँको जुनार बजारमा पु¥याउनेछन् । यसो गर्दा यहाँका जुनारले मूल्य पनि राम्रो पाउँछ ।’’ सिजनका समयमा किलोको ४०/५० रुपियाँमा जुनार बेच्न बाध्य किसानहरुले अब कोल्ड स्टोरमा भण्डारण गरी बेमौसममा १५० रुपियाँसम्ममा बिक्री गर्न सक्ने उहाँको भनाइ छ ।

पदमबहादुर तामाङ जस्तै रामेछाप नगरपालिका–६ ओख्रोनी गाई टारका धनबहादुर घिसिङ पनि गाउँमा उत्पादन भएको जुनारको सुरक्षित भण्डारणका लागि प्रविधि भित्रिएपछि खुसी हुनुहुन्छ । घिसिङ ४० वर्षदेखि जुनार तथा सुन्तला खेतीमा सक्रिय हुनुहुन्छ । उहाँको अहिले प्रेरणा नर्सरी कृषि तथा पशुपन्छी फार्म सञ्चालनमा छ ।

उहाँको फार्ममा पनि परियोजना कार्यान्वयन एकाइ रामेछापको सात लाख ५० हजार अनुदान सहयोग र आफ्नो दुई लाख ७० हजार रुपियाँ लगानीमा ६ मेट्रिक टन क्षमताको मिनी कोल्ड स्टोर बन्दै छ । यसरी बन्ने आधुनिक मिनी कोल्ड स्टोरमा राखिएको जुनार बेमौसममा समेत बजारमा पुग्ने भएकाले किसानको आम्दानीमा वृद्धि हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिला सुरक्षित भण्डारणको अभावमा सस्तोमा जुनार बेच्न बाध्य थियौँ । अब यस्ता कोल्ड स्टोर बनेपछि भण्डारणमा समस्या हुँदैन । यसले गर्दा यहाँका जुनार अफ सिजनमा पनि बजारमा पुग्छ । सिजनमा ४०/५० रुपियाँ किलो बिक्री हुने जुनारको अपसिजनमा राम्रो मूल्य आउनेछ ।’’

रामेछाप नगरपालिका–६ ओख्रोनी गाइटार र आसपासका गाउँमा गरी ६० भन्दा बढी घरपरिवार छन् ।  यहाँका अधिकांश घर परिवारको मुख्य आम्दानीको स्रोत जुनार सुन्तला खेती नै हो । मकै र कोदो राम्रो उत्पादन हुने यो ठाउँमा अन्न बालीमा भन्दा जुनार सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यहाँका मानिस व्यवसायी जुनार सुन्तला खेतीमा आकर्षण बढेको छ । यहाँका अधिकांश घर परिवार ४० वर्ष देखिनै जुनार सुन्तला खेतीमा छन् । ओख्रेनीमा गुणस्तरीय जुनार उत्पादन हुने भएकाले विभिन्न ठाउँका व्यापारीहरूले साउन भदौ महिनामा नै बोटमै किन्ने गरेका छन् । जसका कारण यहाँका जुनार सुन्तला कृषकले उचित मूल्य पाउन सकेका छैनन् ।

अहिले सुरक्षित भण्डार गर्ने प्रविधि गाउँमा भित्रिएपछि यहाँका किसानमा हौसला थपिएको छ । ओख्रेनीमा उत्पादन भएको जुनारलाई वर्ष भरिनै बजारमा पु¥याउने उद्देश्यले किसानको माग अनुसार अनुदान सहयोगमा आधुनिक मिनी कोल्ड स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यहाँका जुनारलाई वर्ष भरिनै बजारमा ब्रान्ड कायम गर्न सुरक्षित भण्डारण अत्यावश्यक हो ।

यसलाई ध्यानमा राखेर परियोजना कार्यान्वयन एकाइको अनुदान सहयोग र किसानको लगानीमा मिनी स्टोरहरु  बनिरहेका छन् । यसले सुरक्षित भण्डारण हुने भएकाले अफ सिजनमा जुनार कृषकले राम्रो मूल्य पाउँछन् ।’’ सिजनमा उत्पादन भएर कोल्ड स्टोरमा भण्डार गरेको जुनार बेमौसम ६० प्रतिशतसम्म मूल्य बढाएर बिक्री गर्न सकिने उहाँको भनाइ छ । किसानको माग अनुसार रामेछाप नगरपालिका–६ ओख्रेनीका विभिन्न स्थानमा अझै थप तीन वटा कोल्ड स्टोर यही आर्थिक वर्षमा निर्माण हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार रामेछाप नगरपालिकाको १२ लाख र परियोजना कार्यान्वयन एकाइको १० लाख रुपियाँ लाग साझेदारीसहित रसिलो जुनार कृषि सहकारी संस्था लिमिटेडमा २५ लाख रुपियाँ लागतको १२ मेट्रिक टन क्षमताको कोल्ड स्टोर बन्दै छ । त्यसै गरी प्रगतिशील कृषि उत्पादन तथा पशुपालन फार्म र प्रेरणा नर्सरी कृषि तथा पशुपन्छी फार्ममा परियोजना कार्यान्वयन एकाइको सात लाख ५०  हजार र फार्मको दुई लाख ७० हजार रुपियाँ गरी १० लाख २० हजार रुपियाँ लागतमा ६÷६ मेट्रिक टन क्षमताका दुई वटा मिनी कोल्ड स्टोर बन्दै छन् ।

रामेछापलाई जुनारको जिल्लाका रूपमा परिचित बनाउन ठुलो योगदान गर्ने ओख्रेनीका जुनार कृषकका लागि कोल्ड स्टोर निर्माण हुनु धेरै खुसीको कुरा भएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । अब कोल्ड स्टोरको अभावमा बजार नपाउने डरले सस्तो मूल्यमा जुनार बेचिरहेका किसानहरूलाई राहत पुग्ने उहाँको विश्वास छ । ‘‘यो कोल्ड स्टोरको दिगो रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग गर्छ,  कोल्ड स्टोरमा लाग्ने विद्युत् शुल्कलाई सहुलियतपूर्ण बनाउनका लागि स्थानीय सरकार लाग्छ ।’’ उहाँले भन्नुभयो ।