• १३ साउन २०८१, आइतबार

केरा खेतीमा किसानको आकर्षण बढ्दो

blog

भोक्राहा नरसिंह गाउँपालिका–६ कृषक केरा खेती गर्दै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, चैत २८ गते ।
परम्परागत खेती प्रणालीबाट लगानी उठाउनै समस्या हुन थालेपछि सुनसरीका किसानहरु केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । अरु खेती जस्तो मेहनत गर्नुनपर्ने भएपछि किसानहरुको आकर्षण केरा खेतीतिर हुन थालको हो ।

केरा खेतीमा अन्य बालीमा जस्तो बढी रोग किरा नलाग्ने हुँदा किसानहरुको आकर्षण बढ्दै गएको छ । केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि भोक्राहा नरसिंह गाउँपालिका–६ मेहता टोलका चन्द्रदेव मेहता छ वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । उहाँले दुई बिघा दश कठ्ठा क्षेत्रफलमा केरा खेती लगाउँदै आउनुभएको हो । चन्द्रदेव मेहता केरा खेती गर्ने प्रतिनिधि किसान मात्र हुन् । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार सुनसरी जिल्लामा गत आर्थिक वर्ष ०७९/०८० मा ५ सय ८६ हेक्टर क्षेत्रफलमा केरा खेती भएको छ ।

वार्षिक रुपमा एक बिघा जग्गामा चार लाख रुपियाँ आम्दानी हुने भएपछि अन्य खेती छाडेर पानी नजम्ने खेतीमा किसानहरुले केरा खेती गर्दै आएका छन् । जिल्लाको भोक्राहा नरसिंह, हरिनगर, देवानगन्ज, कोशी, गढी गाउँपालिकाहरुमा र इनरुवा, वराहक्षेत्र नगरपालिकाका किसानले केरा खेती लगाउँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । पन्ध्र बिघासम्म किसानले केरा खेती गर्दै आएको सूचना अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । 

भोक्राहाका केरा खेती कृषक चन्द्रदेव मेहताले सुरुवातमा दश कठ्ठाबाट व्यवसाय सुरु गर्नुभएको थियो । केरा खेतीका लागि सुहाउँदो माटो भएका कारण जिल्लाको दक्षिणवर्ती क्षेत्रमा किसानहरुले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । चन्द्रदेव भन्नुहुन्छ “पहिला केरा खेती गर्ने किसान  त्यति हुँदैनथे, अहिले खेती गर्ने लहरै चलेको छ । सुरुवाती चरणमा केरा खेतीबाट राम्रो आम्दानी हुन्छ भन्दा कसैले पत्याउँदैन थे ।”

भोक्राहा नरसिंह गाउँपालिका–६ कै रामदेव मेहता पनि केरा खेती गर्दै आउनुभएको छ । उहाँले पनि चार बिघामा केरा खेती गर्दै आउनुभएको छ । व्यापारी बारीमै आएर केरा किन्ने हुँदा बजारको समस्या किसानहरुलाई नभएको उहाँ बताउनु हुन्छ ।

समयमा रासायनिक मल नपाउँदा केरा खेती गर्ने किसान हरुलाई समस्या हुने गरेको कृषक चन्द्रदेव मेहताले बताउनुभयो । उहाँले भन्नुभयो सरकारले केराको मूल्य नतोकिदिँदा बिचौलियाहरुबाट मूल्यमा ठगिंदै आएका छौँ ।

केरा खेती किसानहरुको नगदे आम्दानीको स्रोत बन्न थालेपछि किसानहरुको खेतीप्रति आकर्षण बढ्दै गएको हो । कम लगात र छोटो समयावधिमा राम्रो उत्पादन लिन सकिने भएपछि खेती गर्नेको सङ्ख्या बढ्दै गएको ज्ञान केन्द्र सुनसरीले जनाएको छ । स्वास्थ्यको दृष्टिकोणले समेत केरा बहु उपयोगी फल मानिन्छ । शरीरलाई आवश्यक पर्ने भिटामीन ए, बी र सी लगायतका पौष्टिक तत्व पाइने गरेको छ ।

केरा ओसिलो र गर्मी हावापानीमा फस्टाउने गर्छ । केरा खेती लागि मलिलो माटो, पानी नजम्ने र अम्लीयपन नभएको पीएच ६ देखि ७ भएको माटो उपयुक्त हुने ज्ञान केन्द्र सुनसरीले जनाएको छ । खेती गरेको एक वर्षभित्रै फल दिने र एक पटक बिरुवा लगाएपछि चारदेखि पाँच वर्षसम्म अर्को बिरुवा रोप्नु नपर्ने हुँदा किसानहरुले केरा खेतीलाई बढाउँदै लगेका छन् ।