• २१ वैशाख २०८१, शुक्रबार

प्यारापिड निर्माण कार्य चार वर्षदेखि अलपत्र

blog

अलपत्र अवस्थामा रहेको कवर्ड हलको निर्माण कार्य । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २८ गते ।
सिमकोटस्थित खेल मैदानमा पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको प्यारापिड अलपत्र अवस्थामा परेको छ । आर्थिक वर्ष ०७५/०७६ यता बजेटको ब्यवस्था नगरिए पछि निर्माण कार्य अलपत्र परेको हो ।

हक्की सङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले पाँच वर्ष अगाडि निर्माण कार्य सुरु भएको खेल मैदान क्षेत्रमा निर्माण कार्य सुरु गरिएको प्यारापिडको निर्माण कार्य अलपत्र अवस्थामा रहेको बताउनुभयो ।

पहिलो वर्ष कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सिमकोट गाउँपालिकामार्फत बजेटको व्यवस्था गरे पनि त्यसयता बजेटको व्यवस्था नभएको कारण निर्माण कार्य अगाडि बढ्न नसकेको हो ।

उक्त आर्थिक वर्षमा ९२ लाख बजेटमा जमिनमा ढलान तथा सरिया राख्ने कार्य भएको थियो । उहाँले त्यसयता सिमकोट गाउँपालिका र प्रदेश सरकारले बजेटको ब्यवस्था नगरेका कारण काम अधुरो अवस्थामा रहेको छ ।

उहाँले मैदानका लागि आवश्यक जग्गाको अध्ययन नगरी कनै प्यारापिड निर्माण गरिएका कारण अब त्यसलाई पुर्नु पर्ने वा भत्काउनु पर्ने अवस्था आएको बताउनुभयो । खेल मैदानमा फुटवल ग्राउण्डका लागि आवश्यक मैदान नपुग्ने अवस्था रहेको छ ।

हाल सो मैदानका लागि हक्की खेलका लागि ग्राउण्ड निर्माण गर्ने कार्य भइरहेको छ । बजेट आएपछि आवश्यक अध्ययन बिनै प्यारापिट निर्माण गरिएको आरोप उहाँले लगाउनुभयो । जसले गर्दा करिब एक करोड बजेट पनि खेर गएको छ ।