• २४ वैशाख २०८१, सोमबार

समाज रूपान्तरणमा शिक्षा नीति

blog

भूमण्डलीकरणले मानव समुदायलाई चुनौतीको पहाड ठड्याइदिएको छ । बदलिँदो विश्व परिवेशमा उत्पन्न नयाँ नयाँ परिस्थिति र चुनौतीसँग जुध्न नागरिकलाई कसरी सक्षम बनाउने भन्नेमा त्यस देशको शिक्षा नीतिले अहम् भूमिका खेलेको हुन्छ । हाम्रो सोच, तयारी र लगानी बिल्कुलै उल्टो छ । हाम्रो सोचाइ र काम गराइको तरिका अनुकूल छैन । राष्ट्रिय स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थ र लहडका भरमा हामी नपुग्ने गन्तव्यमा हिँडिरहेका छौँ ।

 हाम्रो शिक्षा नीति पाठ्यक्रम र सिकाइका मोडल बिल्कुल पुरातनवादी र कसैको व्यक्तिगत स्वार्थबाट निर्देशित छन् । नीति निर्माताले कसरी दूरदर्शी भएर नीति बनाइदिन्छन् र शिक्षकले विद्यार्थीलाई कसरी सिर्जनात्मक एवं कल्पनाशील बनाउँछन् भन्नेले नै आधा काम सम्पन्न हुन पुग्छ । आजको शिक्षा लिने दिने प्रक्रियाले भोलिको देशको भविष्य तय गर्ने हुनाले शिक्षालाई महत्वपूर्ण कसीमा राख्नु परेको हो । 

आगामी २० वा ३० वर्षभित्रमा देशको विद्यमान अवस्थामा कस्तो परिवर्तनको अपेक्षा गर्ने र कुन तहको जनशक्ति कति उत्पादन गर्ने भन्ने राष्ट्रिय नीतिले देशको शिक्षा क्षेत्रलाई निर्देशित गर्नु पर्छ । दुर्भाग्य अहिले हाम्रा शैक्षिक संस्थाहरूको अवस्था कस्तो छ ? कस्ता जनशक्ति प्रवेश गर्दै छन् ? यथेष्ट मात्रामा पूर्वाधारको विकास भएको छ कि छैन ? राम्रा भनिएका विद्यालय र विश्वविद्यालय कस्ता देखिन्छन् ? त्यहाँको शैक्षिकस्तर कस्तो छ ? जस्ता प्रश्नले घचघच्याउने गर्छ । संरचनागत एवं शैक्षिक स्तरका हिसाबले केही स्कुल, कलेज हेर्नलायक भए पनि बाँकी धेरै कमजोर देखिन्छन् । सिकाइको स्तर पनि कमजोर छ भने व्यवस्थापकीय पक्ष पनि कमजोर नै देखिन्छन् । अझ दुर्गमका स्कुल, कलेजको अवस्था त झन् कहालीलाग्दो नै छ । के यस्तो संरचना र सिकाइ स्तर भएका शैक्षिक संस्थाले विद्यार्थीलाई भोलिको चुनौती सामना गर्न तत्पर बनाउन सक्ला ? प्रश्न गम्भीर रूपमा उठेका छन् र सोचाइ पनि अब त्यसै अनुकूल बनाउनु पर्ने देखिन्छ । 

राज्यको शासकीय स्वरूप परिवर्तनका साथसाथै पुराना शैक्षिक अभ्यास एवं केन्द्र परिवर्तन हुँदै आएका छन् । २०२८ सालपछि आएको शिक्षाले अपेक्षाकृत समाजको आवश्यकता पूरा गर्न सकेको पाइएन । यसले अझ शिक्षा र समाजबिचको दुरी फराकिलो बनाइदियो । नीतिको कमजोरी हो वा कार्यनीतिको कमजोरी १२ कक्षा उत्तीर्ण भइसकेपछि अब यहाँ बसेर भविष्य बन्दैन भन्ने गलत भाष्यले युवा विद्यार्थीको मन मस्तिष्कमा जरा गाड्न पुग्यो त्यसैको परिणाम अहिले दैनिक हजारौँको सङ्ख्यामा राहदानी बनाउने भिडमा उभिनुपर्ने परिस्थिति उत्पन्न भएको छ । यो अवस्था लामो समयसम्म रहिरहे मुलुकको समृद्धिको मार्गमा ठुलै तगारो बन्ने छ ।

 हाम्रा स्कुल केवल जागिर खाने ठाउँमा मात्र सीमित हुन पुगेका छन् । शिक्षकप्रतिको समाजको हेराइ र बुझाइमा अन्तर छ तर पनि अघिल्ला दशकभन्दा अहिले परिवर्तन द्रुतगतिमा भएका छन् । हामी दुई ठुला शक्तिशाली र विकसित मुलुकका बिचमा छौ । ती मुलुकबाट सिक्दै अघि बढ्ने कुरामा गति लिन सकिरहेका छैनौ । हाम्रा कुरा मात्रै धेरै हुन थाले तर कामले हामी अझ धेरै पछाडि नै छौ । 

विश्वव्यापी रूपमा फैलिएको महामारी र प्रकोपको असर बुझेर अघि बढ्न हाम्रो शिक्षा कमजोर भइदियो । जसले गर्दा महामारीको समयमा थप क्षति बेहोर्नु प¥यो । जसको असर आजसम्म छ । ढुङ्गे युगबाट कृषि हुँदै औद्योगिक युगमा प्रवेश गरेसँगै नयाँ नयाँ ज्ञान र सिपको आवश्यकता बढ्न थाल्यो औद्योगीकरणले पूरै युरोपको कायापलट भयो । ज्ञान र सिपको झन्झन् महत्व बढ्न थाल्यो हामी भने पुरानै संस्कार र नीति नियममा रमाइरह्यौ । 

राजनीतिक प्रणाली फेरियो । चिन्तन र कार्यशैली फेरिएन । अनि समस्या त्यहीबाट जन्मिन थाले । जुन अहिले हामी भोगिरहेका छौ । विद्यालयीय शिक्षाले समाज रूपान्तरणको विभिन्न सम्भाव्यता बोकेको हुन्छ । नेपालको राणकाल, पञ्चायतदेखि आजसम्म आइपुग्दा प्रचलित शक्ति संरचनालाई र शाषण व्यवस्थाको पक्षपोषण गर्नमै नेपालको शिक्षा रुमल्लिएको देखिन्छ । खास गरी २०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् बनेको नेपालको संविधान २०७२ पछि शिक्षा नीति राष्ट्रिय आवश्यकताका आधारमा तय हुनुपर्नेमा बेलगाम बनेको छ । सिर्जनशील नागरिक तयार पार्ने शिक्षा समाजको आवश्यकता बुझेर शिक्षा र समाजलाई समदुरीमा राखेर अघि बढ्नु पर्ने कुराबाट हामी चुक्दै गएका छौ । हाम्रो शिक्षा नीति त्यस अनुकूल अघि बढ्न सकेको छैन । 

राजनीतिक रूपमा हाम्रो शिक्षाले चेतना त थप्यो, समाज निर्माणमा कमजोर रह्यो । छिमेकी देश चीन र भारतले शिक्षामा ठुलै फड्को मारे । आज ती देश आर्थिक, शैक्षिक, सामारिक एवं भौतिक रूपमा अघि बढिरहेका छन् । हामी भने पुरातनवादी सोचमा रमाइरहेका छौँ । उनीहरूले रूपान्तरणकारी चिन्तक र दार्शनिकबाट धेरै कुरा सिके र समाजलाई सिकाए । शिक्षा प्रणलीलाई समाज रूपान्तरणको हतियारका रूपमा बुझे । हामीले शिक्षालाई केवल राजनीतिक हतियारका रूपमा मात्र प्रयोग गरिरह्यौ । जनवादी शिक्षा, समाजवादी शिक्षा, युग सुहाउँदो शिक्षाको भुलभुलैयामा जनतालाई नचाइ मात्र राख्यौँ । 

अब हामीले प्रगतिशील शिक्षाबाट समाज बदल्नुको विकल्प छैन । हाम्रा रैथाने ज्ञान र सिपको प्रयोगमार्फत शिक्षालाई व्यावहारिक र जीवन उपयोगी बनाउनु जरुरी छ । घोक र लेखको सिद्धान्तबाट विद्यार्थीलाई बाहिर निकाल्न सक्नु पर्छ । अब पनि शब्दजालमा मात्रै कुदिरहने हो भने आगामी पुस्ता झनै भुत्तो हुने निश्चित छ । परिवर्तित वर्तमान समाजमा युगानुकूल सक्षम पुस्ता तयार गर्नु आजको शिक्षाको प्रमुख ध्येय बन्नु पर्छ । आजको शिक्षा नीतिले भोलिको समाज बदल्न सक्नु पर्छ । 

 खेर गइरहेको अथाह स्रोत र साधनलाई बुझेर उपयोग गर्ने नागरिक तयार गर्नु पर्छ । यसका लागि सरकारले शिक्षामा क्रमशः लगानी बढाउँदै जानु पर्छ । लक्ष्य फराकिलो राख्नु पर्छ । यसले हरेक विद्यार्थीको क्षमता र सम्भाव्यतालाई चिन्न सक्ने हुनु पर्छ । आजको शिक्षाले विद्यार्थीलाई वर्तमान र आगामी आइपर्ने विभिन्न खालका चुनौतीका बारेमा बुझाउन सक्ने हुनु पर्छ । आफू र भावी सन्ततिको दिगो भविष्यको सोच भएका नागरिकले नै असल समाजको निर्माण गर्न सक्छन् । 

   

Author

खेमराज निरौला