• २० वैशाख २०८१, बिहिबार

मकैमा दाना नलागेपछि किसान मारमा

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत २५ गते । मकैको घोगामा दाना नलागेपछि सर्लाहीको बागमती र बरहथवा नगरपालिकाका किसान मारमा परेका छन् ।   

‘मकै जोन’ अन्तर्गत पर्ने यी दुई पालिकाका अधिकांश किसानले यो वर्ष भारतीय बिउ उत्पादक कम्पनी ‘नुजिभिडु सिड्स’ ले उत्पादन गरेको ८३५२ जातको हाइब्रिड मकै रोपेका थिए । गाउँकै सहकारी र विभिन्न एग्रोभेट पसलबाट मकैको बिउ ल्याएर रोपेका किसान अहिले दाना नै नभएको ‘थोते घोगा’ लागेपछि मारमा परेका हुन् । 

बागमती नगरपालिका–५, सोल्टीका विमल बस्नेतले एक बिघा खेतमा लगाएको मकैमा दाना नलागेको गुनासो गर्नुभयो । “गत वर्ष एक बिघामा तीन लाख रुपियाँको मकै फलेको थियो तर यो वर्ष त्यही मकै लगाउँदा दाना नै लागेन” बस्नेतले भन्नुभयो, “थोते घोगा लाग्दा बिउ, मलखाद र ट्याक्टरको खर्च उठाउन पनि मुस्किल छ ।”

बागमती नगरपालिकाको कृषि शाखाका प्रमुख एवं कृषि अधिकृत अवधेशकुमार झाले नगरभित्रका किसानले लगाएको सबैभन्दा बढी ८३५२ र केही मात्रामा ३३५५ जातको मकैमा दाना नलाग्ने समस्या देखिएको बताउनुभयो । उहाँले तापक्रम नमिल्दा र बिउको गुणस्तरमा तल माथि पर्दा दाना नलाग्ने समस्या आएको बताउनुभएको छ । 

कृषि अधिकृत झाले उपयुक्त तापक्रम मिलाएर रोप्न नजान्दा मकैमा दाना नलागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि यस बारेमा थप अनुसन्धान हुन बाँकी नै रहेको बताउनुभयो । 

“यो मकै चिसो कम भएपछि कात्तिकपछि लगाउनुपर्ने हो तर अधिकांश किसानले कात्तिकमै मकै रोपेको देखिन्छ,” कृषि अधिकृत झाले भन्नुभयो, “चिसो बढी भएर परागसेचन नहुँदा दाना नलागेको जस्तो देखिन्छ तर यो कुराको पुष्टि अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।” 

कृषि अधिकृत झाले दाना नलागेको मकैको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको जनाएको छ । कृषि शाखाको अनुसार बागमती नगरपालिकामा पाँच हजार हेक्टर र बरहथवा नगरपालिकामा चार हजार हेक्टरमा हाइब्रिड मकैको खेती हुँदै आएको छ । 

सर्लाहीसहित केही जिल्लाका किसानले लगाएको मकैमा दाना नलागेको विषयमा अनुसन्धान गर्न सरकारले केही दिनअघि अनुसन्धान टोलीसमेत गठन गरेको छ ।  

गत वर्ष यही जातको मकै रोप्दा राम्रो उत्पादन भए पनि यो वर्ष भने घोगामा दानानै नलागेको अधिकांश किसानले बताएका छन् । मकै किसानसमेत रहेका बागमती नगरपालिका–१०, शङ्करपुरका वडाध्यक्ष शेष जुगैरले आफ्नो डेढ बिघामा लगाएको ८३५२ जातको मकैमा दाना नलागेको बताउनुभयो । 

आफूले बर्सेनि दुई जातको मकै लगाउने गरेकोमा यो वर्ष एक बिघा १२५५ र डेढ बिघामा ८३५२ जातको मकै लगाएकोमा ८३५२ जातको मकैमा दाना नलागेको उहाँले बताउनुभयो । 

वडाध्यक्ष जुबैरले शङ्करपुर क्षेत्रमा मात्रै करिब दुई हजार हेक्टर जग्गामा ८३५२ जातको मकै रोपिएको जानकारी दिनुभयो । उहाँले राम्रोसँग उत्पादन हुँदा एक कट्ठा जग्गामा साँढे तीनदेखि चार क्विन्टल मकै फल्ने गरे पनि यो वर्ष लागत उठाउनसमेत मुस्किल रहेको बताउनुभयो ।  

केही किसानले ढिलो गरी रोपेको यही जातको मकैमा भने राम्रोसँग दाना लागेको पाइएको छ । बागमती नगरपालिका–८, सोल्टीका किसान कृष्णदेव महतोले आफूले छठको १० दिनपछि रोपेको मकैमा राम्रोसँग दाना लागेको बताउनुभयो । 

आफूले रोपेको मकैमा भर्खरै दाना पस्ने बेला भएको महतोको भनाइ छ । “अगाडि रोप्ने किसानको मकैमा धानचमरा नै राम्रोसँग लागेको छैन तर मेरोमा त धानचमरा राम्रोसँग निस्कियो र दाना पनि राम्रै लागेको छ,” महतोले भन्नुभयो । बागमती र बरहथवाका अधिकांश किसानले कात्तिक मध्य तथा अन्तिमतिर मकै रोपेका थिए । कात्तिकमै रोपिएको मकैमा दाना नलाग्ने समस्या धेरैमा देखिएको छ ।