• १३ साउन २०८१, आइतबार

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

blog

कफीखेती ।

काभ्रेपलाञ्चोक, चैत २४ गते । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा  पकेट क्षेत्र बढाएको हो ।हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ ।

यसअघि छ वटा वडालाई पकेट क्षेत्र बनाइएको थियो । गाउँपालिका अनुसार यस वर्ष एक र ७ नम्बर वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीको बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिँदै आएको छ । “कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आएको छ”, पालिकाको कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले भन्नुभयो । 

शाखा प्रमुख डाँगीका अनुसार यो वर्ष पनि कफी प्रवर्द्धन कार्यक्रम गाउँपालिकाको बजेटमा उल्लेख गरिएको छ । सडकको विकाससँगै कफीखेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको बताइन्छ । गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ८ मा १-१ वटा पकेट क्षेत्र स्थापना गरिएको हो । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिई सुरुआतदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाँकी दुई वटा यही आर्थिक वर्षभित्र पकेट क्षेत्र बनाउने योजनाका साथ गाउँपालिका लागेको छ ।” उहाँका अनुसार कफी बिक्रीबाट पालिकाभित्र वार्षिक ५० हजारदेखि आठ लाखसम्म आम्दानी गर्ने किसान छन् । सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नम्बर २ मा सबैभन्दा बढी कफीखेती भइरहेको छ । पालिकाका वडा नम्बर ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो । 

उक्त गाउँपालिकाका एक हजार किसान व्यावसायिक कफीखेतीमा संलग्न छन् । कृषि शाखाका अनुसार गत वर्ष करिब डेढ लाख केजी चेरी-कफीको फल) उत्पादन भएको थियो । एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीको बिरुवा वितरण गरेको थियो भने कफीको दुई नर्सरी स्थापना गरेको जनाएको छ । रासस