• १३ साउन २०८१, आइतबार

नगरपालिकाले बुझायो किसानको कृषि महसुल

blog

सिरहा, चैत २४ गते । सिराहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ । आर्थिक वर्ष २०७९/८० मा कूल एक हजार दुई सय ३४ किसानले प्रयोग गरेका कृषि महसुलबापतको १४ लाख आठ हजार नगरपालिकाले विद्युत प्राधिकरणलाई बुझाएको हो ।

आज एक समारोहबिच नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानले विद्युत् ‘हुकिङ’ नगरुन्, कृषिमा आकर्षित हुन् भन्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरेका हौँ । यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ । आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने छ ।”

पालिकाले गत असारमा सम्पन्न नगर सभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भएपनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँले आव २०८०÷८१ मा सात सय कृषक परिवार थप हुने भन्दै आगामी दिनमा नगरभित्रका बाँकी किसानलाई पनि यस योजनामा समेट्दै जाने बताउनुभयो । लामो समय खडेरी पर्दा किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेका छन् । यस्तो बेलामा नगरले विद्युत महसुल तिरेर किसानलाई राहत दिएको उनीहरूको भनाइ छ । रासस