राधा लुइँटेल
फिदिम, चैत २३ गते । पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिकाको अगुवाइमा सातौं संस्करणको चौँरी महोत्सव आयोजना हुन लागेको हो ।
यहाँ २०७४ सालदेखि प्रत्येक वर्षको वैशाख १ गते चौँरी महोत्सव आयोजना हुँदै आएको छ । चैत ३० देखि वैशाख २ गतेसम्म महोत्सव आयोजना गरिने शुक्रबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘सातौं फालेलुङ चौँरी पर्यटन महोत्सव’ भनिएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्द्धनमा चौरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीप ज्योती युवा क्लब सहितका सङ्घ संस्थाले आयोजना गर्न लागेका हुन् ।
हिमालको पर्यायका रूपमा स्थापित चौरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो ।
महोत्सवमा छ सयभन्दा धेरै चौँरी र याकको प्रदर्शनी गरिनेछ । योसँगै याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि साथै याक चौरीमा आधारित विभिन्न्न खेल तथा सांस्कृतिक कार्यक्रम एवम् साहसिक फुटबल प्रतियोगिता महोत्सवमा राखिएको दीपज्योति युवा क्लबका कार्यकारी अधिकृत सुनिल बान्तावाले बताउनुभयो ।
महोत्सव क्षेत्रमा चौँरी र भेडाजन्य उत्पादनका स्टल राखिने बताइएको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पन्जाब, पश्चिम बङ्गाल, कोलकत्तासँगै भुटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजारभन्दा बढी पर्यटक ल्याउने आयोजकको लक्ष्य छ ।