बिष्णुप्रसाद पोखरेल
दमक, चैत २३ गते । ‘प्रति व्यक्ति ८ बिरुवा रोपौं, प्रकृतिबाट लिएको उधारो तिरौं’ भन्दै झापाका ४ जना युवाले पर्यावरण संरक्षणको निम्ति जागरण अभियान घोषणा गर्दै मेची-महाकाली पैदल यात्रा सुरु गरेका छन् । झापा दमकका युवा सुवास सुवेदीसहित तीन जनाले शुक्रबार नेपालको पूर्वी नाका झापाको काँकडभिट्टा मेची पुलबाट पैदलयात्रा सुरु गर्नुभएको हो ।
सुवेदी सहित पदम भण्डारी, दिनेश भण्डारी र उमेर राई पैदलयात्रामा रहनुभएको छ । जनसङ्ख्याको बढ्दो चाप, तीव्र औद्योगिकीकरण र खनिज तथा प्राकृतिक स्रोतहरुको अत्यधिक दोहनले सृजित वातावरण प्रदुषणले भएको हरितगृह ग्याँसहरुको वृद्धिसँगै पृथ्वीको तापक्रममा हरेक वर्ष हुँदै गएको उच्च वृद्धिका कारण सिर्जित विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनले सम्पूर्ण चराचर जगतकै अस्तित्व सङ्कटमा परेकाले यस विषयमा सचेतना फैलाउन आफूहरुले यात्रा सुरु गरेको सुवेदीले बताउनुभयो ।
"हिमालको हिउँ र बरफ पग्लिने कारण समुद्रको सतह बढ्नाले, आँधीबेहरी र खडेरी जस्ता गम्भीर प्राकृतिक प्रकोपहरू आउने, वासस्थानहरू अवरुद्ध हुने भएकाले जैविक विविधताको हानि, र जलवायु परिवर्तनका कारण कृषि र खाद्यान्न उत्पादन र आपूर्तिमा अवरोध खडा हुने विषयमा जानकारी गराउन चाहान्छाैं", उहाँले भन्नुभयो ।
पर्यावरणमा नोक्सानी पुग्दा स्वास्थ्य समस्याहरू र आर्थिक असमानतालाई पनि बढाउँदा कमजोर समुदायहरूलाई सबैभन्दा कठिन असर पर्ने भएकाले आफूहरुले ६० दिने यात्राको क्रममा यस विषयमा छलफल चलाउने र देशभरको अवस्थाको विषयमा जानकारी लिने पनि सुवेदीले बताउनुभयो ।
बढ्दो वायु प्रदूषण, गर्मी सम्बन्धित रोगहरू र रोग बोक्ने जीवहरूको दायरा विस्तार हुँदा श्वासप्रश्वाससम्बन्धी रोगहरू, छालाको क्यान्सर आदि जस्ता स्वास्थ्य समस्याहरू बढाउन सक्ने, वर्षाको ढाँचामा परिवर्तन भइ अतिवृष्टि अनावृष्टि ले केही क्षेत्रहरूमा बाढी आउने र केही क्षेत्रमा पानीको अभाव हुन सक्ने जस्ता समस्याको विषयमा आम समुदायलाई पनि बुझाउन जरुरी देखेर यो यात्रा सुरु गरेको सुवेदीको भनाइ छ ।
"यस्ता विषयमा हामी चुप लागेर बस्ने हो भने निकट भविष्यमा नै पृथ्वीबाट जीवन समाप्त हुनसक्ने भएकाले केही न केही गराैं भन्ने लागेर यो यात्रा तय गरिएको अर्का यात्री पदम भण्डारीले बताउनुभयो । आफूहरुले ठुलो काम गर्न नसकेपनि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा पर्यावरण संरक्षण, नवीकरणीय ऊर्जा र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने नीतिहरूको लागि समर्थन तथा बहस पैरवी गर्न सक्छौ भनेर यात्रा शुरु गरेका हौं", भण्डारीले भन्नुभयो ।
रूखहरू र रैथाने वनस्पति रोप्न जागृत गराउने, वृक्षरोपण अभियानमा भाग लिन अभिप्रेरित गराउने र जीवजन्तुका लागि स्थानीय बासस्थानहरूको संरक्षण र पुनस्र्थापनाको लागि बहस पैरवी गर्न हामी यात्रा सफल हुन्छ भन्ने विश्वास लिएका छौं, अर्का यात्री दिनेश भण्डारीले बताउनुभयो ।
हरितगृह ग्याँस उत्सर्जन कम गर्न उर्जा–कुशल उपकरणहरू छनाेट गर्ने, ऊर्जा खपत घटाउने, सार्वजनिक यातायात प्रयोग गर्ने र नवीकरणीय ऊर्जा स्रोतहरूलाई समर्थन गर्दै जाने अभ्यास सुरु गर्न सकारत्मक सन्देश प्रवाह गर्ने, पुनः प्रयोग गर्न सकिने झोलाहरू, पानीको बोतलहरू प्रयोग गर्ने र सम्भव भएसम्म दिगो उत्पादनहरू छनौट गर्ने जस्ता पर्यावरण–मैत्री बानीहरू अपनाउन अभिप्रेरित गर्ने हाम्रो उदेश्य रहेको अर्का पैदल यात्री उमेश राइले बताउनुभयो ।