• १३ साउन २०८१, आइतबार

च्याउ उत्पादनतर्फ महिलाको बढ्दो आकर्षण

blog

वीरेन्द्रनगर नगरपालिका –१२ पिपिराचोकका ४७ वर्षीया वसन्ती अधिकारीको च्याउ व्यवसाय । तस्बिरः रजनी योगी

रजनी योगी

सुर्खेत, चैत २२ गते । वीरेन्द्रनगर नगरपालिका –१२ पिपिराचोकका ४७ वर्षीया बसन्ती अधिकारीले व्यावसायिक रूपमा च्याउखेती थालेको दशकभन्दा बढी समय भयो । सामान्य लेखपढ मात्र गर्नुभएकी उहाँ आफू एक्लै च्याउखेतीमा रमाउनुभएको छैन्, उद्योगमार्फत् अरुलाई रोजगारीसमेत दिनुभएको छ । 

अधिकारीको उद्योगमा अहिले पाँच जनाले रोजगारी पाएका छन् । व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको छ । वार्षिक आम्दानी करिब १८ लाख हुने र त्यसबाट पाँच लाख जति बचत गर्ने गरेको अधिकारीले बताउनुभयो । 

२०६८ सालमा ४० हजार लगानीबाट व्यवसाय सुरु गर्नुभएको हो । अहिलेसम्म ३५ लाख लगानी पुगेको छ । त्यतिबेला घर भाडामा लिएर च्याउ लगाउन सुरुवात गर्नुभएको थियो । अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रूपमा परिचित बन्नुभएको छ । 

उहाँले भन्नुभयो्, ‘च्याउखेतीबाट आर्थिक रूपमा सक्षम हुनुका साथै आत्मनिर्भर पनि बनेकी छु । अहिले राम्रै कमाइ हुन थालेपछि पहिलेभन्दा व्यवसाय पनि बढाएको छु । पाँच जनालाई मासिक रोजगारी दिएको छु ।’

च्याउको बीउ र च्याउ बिक्रीबाट हालसम्म बचत गरेको रकमबाट एक पक्की घर, एउटा मोटरसाइकल र अन्य केही सम्पत्ति जोड्न सफल भएको उहाँको भनाइ छ । च्याउखेतीकै आम्दानीबाट चार छोरी र एउटा छोराले उच्च शिक्षासमेत हासिल गरिसकेको अधिकारीले बताउनुभयो । 

एक सफल उद्यमी महिलाको रूपमा स्थापित हुनुभएकी उहाँले उत्पादन गर्ने ताजा च्याउबाट तयार गरिएको च्याउको सुकुटी सुर्खेतका अन्य पालिका तथा दैलेख र सल्यानसम्म बिक्री गर्नुभएको छ । उद्योगबाट उत्पादित च्याउ बाहिरी बजारसम्म पुग्ने गरेको उहाँको भनाइ छ ।

आफूले उत्पादन गरेका च्याउ, च्याउका परिकारदेखि च्याउको बीउसमेत बिक्री गर्ने गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो्, ‘अहिले म निकै खुसी छु । च्याउका परिकार खरिद गर्ने मानिसको सङ्ख्या निकै बढेकाले काम गर्ने जाँगर चलेको छ । अबको चाहना आफ्ना उत्पादनहरू नेपालभरका बजारसम्म पुगाउने भन्ने छ ।’ उहाँले ताजा च्याउ प्रतिकेजी तीनसय, च्याउको सुकुटी प्रतिकेजी नौसय र अचार प्रतिकेजी नौ सयदेखि १२ सयसम्ममा बिक्री गर्दैआएको जानकारी दिनुभयो । 

करिब ४० हजारबाट व्यवसाय थालेको बताउने अधिकारीले हालसम्म च्याउखेतीबाटै दुई करोड बराबरको पक्की घर खरिद गर्नुका साथै च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री पनि जोडेको बताउनुभयो । आर्थिक वर्ष २०७५–७६ मा कृषि विकास निर्देशनालयबाट च्याउको बीउ उत्पादन गर्न ल्याव स्थापनाका लागि चारवटा मेसिन उपलब्ध भएको उहाँले जानकारी दिनुभयो । 

पाँच सन्तानकी आमा, सामान्य लेखपढ बसन्तीलाई उहाँको श्रीमानको राम्रो सहयोग छ । उहाँले जिल्लास्तरका पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ । गत वर्ष पनि उहाँलाई उद्योग तथा उपभोक्ता हित संरक्षण सुर्खेतले उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरेको थियो । च्याउ खेती सुर्खेत जिल्लाका लागि उचित रहेको उहाँको अनुभव छ । 

धेरै परिश्रम पनि गर्न नपर्ने र स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिने च्याउखेती उचित रहेको उहाँले बताउनुभयो । ग्लोबल च्याउ उद्योग तथा कृषि फर्म खोलेर च्याउखेती सुरु गर्नुभएकी अधिकारीले अहिले तरकारी खेती पनि सुरु गर्नुभएको छ । एक लाखको लगानीमा तरकारी खेती सुरु गरिएको उहाँको भनाइ छ । उहाँको बारीमा बेमौसमी तरकारी छन् ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका –३ का शोभा शाहीले गत आठ वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि शाही च्याउ खेतीतर्फ आकर्षित हुनुभएको हो । 

पछिल्लो समय उत्पादन भएको च्याउ सहजै स्थानीय बजारमा बिक्री हुन थालेको छ । शाहीले २०७२ सालमा शोभा कृषि फर्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभयो । चार लाख रूपियाँको लगानीमा स्थापना गरिएको व्यवसायमा लगानी बढाएर नौ लाख पुगेको उहाँले बताउनुभयो । ‘च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गर्छौं । च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

बजारमा च्याउको माग बढ्दैगएको भन्दै शाहीले उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने सुनाउनुभयो । च्याउखेतीबाट मासिक ३० हजार आम्दानी हुने उहाँले बताउनुभयो । 

शाहीले आफ्नो व्यवसायलाई विस्तार गर्दै लग्नुभएको छ । च्याउको बजार राम्रो देखेपछि शाही च्याउ खेतीतर्फ आकर्षित हुनुभएको बताउनुभयो । उहाँले उत्पादन गरेको च्याउ सुर्खेतबाहेक सल्यान, दैलेख र नेपालगञ्जमा समेत बिक्री हुँदैआएको बताउनुभयो ।