• २० वैशाख २०८१, बिहिबार

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार

blog

आयरल्यान्डको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, चैत २१ गते । आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल  ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो ।

तीनसँगै तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ । जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

नेपालका लागि साहब आलमले ३७ रन बनाउनुभयो । यस्तै देव खनालले २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाउनुभयो । बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच विकेट लिनुभयो । लियम म्याकार्थीले चार विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभयो ।

यस्तै कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाउनुभयो ।  पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२/१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिनुभयो । यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिनुभयो । साथै रिजन ढकालले एक विकेट झार्नुभयो ।