• १३ साउन २०८१, आइतबार

उत्पादनमा आधारित कृषि अनुदान वितरण

blog

किसान सुरेन्द्र पुनले गर्नु भएको बाख्रापालन । तस्बिर : राधा नेपाली

राधा नेपाली
सन्धिखर्क, चैत २१ गते ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिएपछि उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ वितरण गर्ने योजना बनाएको नगरपालिकाले हालसम्म ५० लाख रुपियाँ वितरण गरेको छ । 

शितगंगा नगरपालिका वडा नम्बर ११ वीरखोलाका किसान सुरेन्द्र पुनले नगरपालिकाले अनुदान दिएपछि बाख्रापालन विस्तार गर्नु भएको छ । हाल ७० वटा बाख्रोपालन गर्नु भएको पुनले भन्नुभयो, “दुई वर्ष भयो बाख्रापालन गरेको अहिले बढाएको छु । अनुदान दिने प्रक्रिया सारै ढिला भएको छ । बजारको पनि व्यवस्थापन राम्रो भएको छैन ।” 

किसानले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलका आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिकाका प्रमुख छविलाल पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक पहुँचका आधारमा कृषि अनुदान वितरण हुँदा वास्तविक किसानले नपाउने र दुरुपयोग पनि हुने सम्भावनालाई रोक्न उत्पादनका आधारमा अनुदान दिएका हौं । यसले स्थानीय उत्पादनलाई वृद्धि पनि गरेको छ ।”

कागजात हेरेर अनुदान दिने प्रचलनलाई नगरपालिकाले अन्त्य गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपियाँ, मासुमा प्रतिकिलो ५० रुपियाँ अनुदान दिइने भएको छ । यस्तै तरकारी, केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, किबी, एभोकाडो, कफीलगायतमा प्रतिबिरुवा एकसय रुपियाँ अनुदान दिएको छ ।

प्रमुख पौडेलले उत्पादनमा आधारित अनुदानका लागि एक करोड थप ५० लाख रुपियाँ  बराबरको सिफारिस नगरपालिकामा आएको बताउनुभयो । नगरपालिकाले कृषि सहकारी र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान वितरण गर्दछ । विगतमा सहकारीमार्फत रकम दिदा स्थानीय कै गुनासो आएपछि सिधैँ किसानलाई दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले छ ।

अनुदान प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन गर्दै आएको छ । पालिकाका  उत्पादनलाई बजारमा पुर्‍याउन कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन लागिएको छ । नगरपालिका दुग्ध, खसी र बोकाको मासुमा आत्मनिर्भर भएको छ । अण्डामा आत्मर्निभर उन्मुख रहेको प्रमुख पौडेलले बताउनुभयो ।