• १४ पुस २०८१, आइतबार

बिहीबार विश्वासको मत लिने तयारी

blog

दिवाकर पोख्रेल

देउखुरी, चैत २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारीमा लाग्नुभएको छ । मङ्गलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीले विश्वासको मत ल्याउनका लागि विशेष अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय भएकाले विश्वासको मत ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीय सरकारको समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा देखिए पनि अहिल्यै केही भन्न नसकिने बताउनुभयो । एक कार्यक्रममा पत्रकारको जिज्ञासामा मुख्यमन्त्री चौधरीले भन्नुभयो, “अहिले यस्तो भइरहेको छ, भोलि उठ्दा फेरि अर्कै हुन सक्छ, यसमा अप्ठेरो मान्नुपर्ने कारण छैन ।” यसरी आफू अल्पमतमा रहेको जनाउ गर्नुभएका मुख्यमन्त्री चौधरीले राजनीतिक समीकरण परिवर्तनले सरकारमा फरक पार्ने भए पनि स्थायी सरकारले कुशलतापूर्वक काम नगर्दा भने आफू चिन्तित रहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘‘हामी आउने जाने हुन्छ, यो उथलपुथलमा स्थायी सरकारमा रहेका कर्मचारीले पटक्कै काम नगर्ने चाहिँ ठिक भएन, यसले झनै अस्थिरता बढाउँछ ।’’ 

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको थियो । त्यसअघि नेकपा (एमाले), नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । गिरीको कार्यकाल  सय दिन पनि पूरा हुन पाएन । राजनीतिक समीकरण फेरिएपछि कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । फेरि केन्द्रीय राजनीतिमा आएको बदलाबका कारण एमाले–माओवादीसहितको सरकार बन्ने अवस्था छ, गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

अहिले विश्वासको मत प्राप्त गर्ने दाबी सरकारको छ । स्वास्थ्यमन्त्री राजु खनालले विश्वासको मत प्राप्त गर्ने गरी ‘लबिङ’ भइरहेको बताउनुभयो । सरकारलाई समर्थनमा रहेका दल र अन्य दललाई मिलाएर बहुमत जुटाउने तयारीमा नेपाली कांग्रेस नेतृत्व सरकारको योजना देखिन्छ । यता, एमाले–माओवादी दलका नेताहरूले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने भन्दै नयाँ गठबन्धनको सरकारको तयारीमा छन् । नेकपा (एमाले) का लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीले विश्वासको मत ल्याउन नसक्ने भएकाले राजीनामा दिन सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुख्यमन्त्रीले विश्वासको मत ल्याउने आधारै छैन, आजभोलिमा उहाँले राजीनामा दिनुहुन्छ होला, हामी (गठबन्धन) सँग बहुमत छ सरकार बनाउन समस्या छैन ।”

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग चार, जनमत पार्टीसँग तीन, राप्रपासँग तीन, लोसपासँग तीन, जनमोर्चासँग एक र स्वतन्त्र एक जना प्रदेश सभा सदस्य छन् । यसै गरी एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग तीन र नेकपा एकीकृत समाजवादीसँग एक जना प्रदेश सभा सदस्य छन् । यसरी गठबन्धनको पक्षमा एक जना प्रदेश सभा नपुग्ने देखिए पनि नागरिक उन्मुक्तिले आफूहरूलाई समर्थन गर्ने र स्वतन्त्रको पनि साथ रहेकाले बहुमत जुटाउन कुनै समस्या नरहेको गठबन्धनमा आबद्ध दलहरूको दाबी छ ।