• १३ साउन २०८१, आइतबार

रैथानेबाली प्रवर्धन गर्न कृषकलाई कृषिऔजार

blog

अन्नपूर्ण गाउँपालिकाले ५० प्रतिशत साझेदारीमा वितरण गरेको खेत जोत्ने हाते ट्याक्टरलगायतका सामग्रीसहित बसेका कृषकहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत १९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले रैथानेबाली प्रवर्धन  तथा यान्त्रीकरणका लागि झण्डै १२ लाख रुपियाँको सामग्री कृषकलाई हस्तान्तरण गरेको छ । 

गाउँपालिकाले ५० प्रतिशत साझेदारी र ७५ प्रतिशत साझोदारी गरी ११ लाख ८५ हजार मूल्य पर्ने कृषिमा प्रयोग हुने विभिन्न यान्त्रिक तथा औजारहरु कृषकलाई हस्तान्तरण गरेको हो । 

स्थानीय खाद्य तथा पोषण सुरक्षाको स्थितिलाई सुधार गर्न तथा प्रमुख खाद्यान्नको तीव्र दरमा भइरहेको आयात न्यूनीकरण गरी प्रमुख खाद्यान्नमा आत्मनिर्भरता तर्फ अगाडि बढ्नका लागि कृषकलाई सामग्री उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘‘रैथाने बालीको उत्पादन र उत्पादकत्व बढाउँदै मृल्य श्रृङ्खला विकासमा सहयोग पुराउनका लागि राष्ट्रिय खाद्य सुरक्षा मिसनअन्तर्गत रैथाने बाली प्रवर्धन गर्ने कार्यक्रम अनुरुप कृषि औजार वितरण गरिएको उहाँको भनाई छ । कृषिजन्य उत्पादन छिटोछरितो एवम् कम लागतमा उत्पादन बढाउन सहज होस भनेर यो कार्यक्रम गाउँपालिकाले अगाडि सारेको हो ।’’

अन्नपूर्ण गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त शाहीका अनुसार गाउँपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर (खेतबारी जोत्ने ट्याक्टर) धान तथा कोदो झार्ने थ्रेसर र कुटानी पिसानी गर्ने मिल हस्तान्तरण  गरिएको हो । 

सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच मिनिटेलर ८ जनालाई, एक जनालाई कोदो तथा धान चुट्ने थ्रेसर र ४ जनालाई कुटानी पिसानी गर्न मिल्ने मिल गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले हस्तान्तरण गर्नुभएको सुवेदीले जानकारी दिनुभयो । 

सामग्री हस्तान्तरणमा बोल्दै उपाध्यक्ष पुनले जनताबाट निर्वाचित भएका हामीहरुले गाउँपालिकाले वार्षिक कायक्रममा राखेरै जनताको पक्षमा काम गर्नका लागि नै बजेट छुट्याएको थियो र सोही अनुरुपको सामग्री वितरण गरिएको बताउनुभयो । रैथानेबाली प्रवद्र्धन अन्तरगत गाउँपालिकाको ५० प्रतिशत र कृषकको साझेदारी ५० प्रतिशत गरी कुल छ लाख ३५ हजार रुपियाँको बजेटमा अन्नपुर्ण गाउँपालिका भित्रका १३ जना कृषकहरुलाई सामग्री वितरण गरिएको हो । 

अन्नपुर्ण गाउँपालिका ६ घारका कृषक ओमकार बरुवालले गाउँपालिकामा आफूहरुले गरेको माग अनुसार निश्चित प्रकृया पुरा गरेपछि वडा हुँदै गाउँपालिका सम्म्को छनौट प्रकया पूरा गरी आफ्नो समूहलाई मिनिटेलर उपलब्ध गराइएको मालिका कृषि समुहका ओमकार बरुवालले बताउनु भयो ।

गाउँपालिकाले यसभन्दा अगाडि पनि ७५ प्रतिशत लागत साझेदारीमा माग अनुरुप कृषि यान्त्रिकरण सामग्री वितरण गरेको थियो । उक्त कर्याक्रममा पाँचवटा मिनिटेलर, पाँचवटा फलफूलको हाँगा काँटछाट गर्ने सिकेचर, ५ वटा आरी, ९ वटा भर्‍याङ र २ वटा तौल मेसिन वितरण गरेको थियो । गाउँपालिकाको चारलाख ५० हजार र साझेदारीमा कृषकबाट एक लाख गरी कुल पाँच लाख ५० हजारको सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख शाहीले बताउनुभयो ।