• १३ साउन २०८१, आइतबार

रैथाने बाली प्रवर्द्धन गर्न किसानलाई कृषि उपकरण वितरण

blog

कृषि उपकरण वितरण गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, चैत १९ गते । अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्द्धन गरी किसानहरूको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । 

सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा ८ जना किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्त बहादुर शाहीले जानकारी दिनुभयो । कृषि पेसालाई आधुनिकीकरण गरी उत्पादन बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षको रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । 

स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले बताउनुभयो । कृषि उपकरणको सही सदुपयोग गर्न उहाँले किसानहरूलाई अनुरोध समेत गर्नुभयो ।  

गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानसँगको लागत साझेदारीमा  ६ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।  

कृषि उपकरणले स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारले उपलब्ध गराएको उपकरणले कृषि उपजको उत्पादनमा सहज हुने अन्नपूर्ण गाउँपालिका ६ मानकुमारी बरुवालले बताउनुभयो ।